महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति,२०८१ को मस्यौदा तयार भएको बताएका छन्।
आइतवार सिंहदरबारमा मन्त्रालयले सय दिनमा गरेका कामको उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले सो कुरा बताएका हुन्। मन्त्री साहले बालबालिका सम्बन्धी ऐन, २०७५ संशोधनका लागि मस्यौदा तयारीको चरणमा रहेको र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा मन्त्रिपरिषदमा पेस गरिएको पनि बताए।
मन्त्री साहले भने, ‘बालबालिका सम्बन्धी ऐन, २०७५ संशोधनका लागि मस्यौदा तयारीको चरणमा रहेको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा मन्त्रिपरिषदमा पेश गरिएको छ। मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा तयारीका लागि मन्त्रालय स्तरीय समिति गठन भई मस्यौदा तयार भएको छ।’
उनले हिंसा पीडित महिलाहरूका लागि भक्तपुरको सूर्यविनायक नगरपालिकामा मंगला साहना दीर्घकालीन पुनःस्थापना गृह निर्माण कार्य पनि छिट्टै सुरु गर्ने बताए। करिब ३० करोड लागतमा सो गृहको निर्माण कार्य सुरु हुने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ।
उनले भने, ‘महिला उत्थान परियोजनामार्फत निर्माण हुने मंगला साहना दीर्घकालीन पुनःस्थापना गृहको जग्गा विवाद सूर्य विनायक नगरपालिकाको समन्वयमा समाधान गरिएको छ। अब छिट्टै करिब ३० करोड लागतमा लैगिक हिंसा पीडितहरुको आश्रय तथा सेवाको लागि पुनस्थापना केन्द्र निर्माण हुनेछ।’
मन्त्री साहले सडक बालबालिकाहरुको व्यवस्थापनमा पनि सरकारले उल्लेख्य प्रगति हासिल गरेको दाबी गरे।
Shares

प्रतिक्रिया