नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकटहरूले आफूलाई सबै पूर्वमाओवादी एक ठाउँमा आउन प्रस्ताव गरेको तर यसको औचित्य नभएको टिप्पणी गरेका छन्।
यस क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले शुक्रबार सामाजिक सञ्जालमार्फत लामो वक्तव्य जारी गर्दै विभिन्न प्रश्न तेस्र्याएका छन्।
‘पहिलो कुरा, सबै पूर्वमाओवादीहरू किन एक ठाउँमा जम्मा हुने? अर्को जनयुद्ध गर्न? या भोजभतेर गर्न? या फेरि एकपटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन? यसको वैचारिक–राजनीतिक औचित्य र आधार के हो’, डा. भट्टराईले प्रश्न गरेका छन्, ‘हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक–राजनीतिक कार्यदिशा ठीक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका हैनौँ? तर अहिले समय र परिस्थितिअनुकूल नयाँ कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासबारे कुनै चर्चा नगरी खालि भावनात्मक ढंगले ‘सबै पूर्वमाओवादी एक ठाउँमा आऊँ’ भन्नुको के अर्थ रहन्छ?
यस्तो छ बाबुरामको पूरा वक्तव्य-
प्रचण्डनिकट केही साथीहरूले फेरि एकपटक हामीलाई समेत जोडेर 'पूर्वमाओवादीहरू' एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन्। अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले 'सुशासन'को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेछन्।
यसबारे केही प्रस्ट्याउनु जरुरी भएको छ:
पहिलो कुरा, सबै पूर्वमाओवादीहरू किन एक ठाउँमा जम्मा हुने? अर्को जनयुद्ध गर्न? या भोजभतेर गर्न? या फेरि एकपटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन? यसको वैचारिक-राजनीतिक औचित्य र आधार के हो?
स्मरण रहोस्, हामीले २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएदेखि नै भन्दै आएका छौँ- माओवादी आन्दोलनले देशमा आफ्नो ऐतिहासिक कार्यभार केही कमीकमजोरीसहित पूरा गरिसकेको छ। विश्व एक्काइसौँ शताब्दी सँगसँगै चौथो औद्योगिक क्रान्तिको चरणमा पुगेको छ। सम्पूर्ण विश्व नै भूमण्डलीकृत वित्तीय पुँजीवादको चंगुलमा परेको छ। हामी भने पहिलो औद्योगिक क्रान्तिको चरणमा छौँ। अनि किनारा पुँजीवाद (peripheral capitalism) को रूपमा असमान र परनिर्भर सम्बन्ध (unequal and dependent relations) मा बाँधिन पुगेका छौँ।
यो स्थितिमा अब हामीले पुरानो जनयुद्धकालीन अवस्था निम्ति उपयुक्त माओवादी विचार-राजनीति र स्टालिनवादी अति केन्द्रीकृत ढाँचाको कम्युनिस्ट पार्टीको माध्यमबाट नयाँ युगका कार्यभार पूरा गर्न सक्दैनौँ। हामीले अगाडि बढेको राजनीतिक उपरी संरचना र पछाडि परेको आर्थिक-सामाजिक-सांस्कृतिक आधारबीचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाँकी विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नुपरेको छ। त्यस निम्ति हामीले नयाँ युगको नयाँ कर्यभार पूरा गर्न विचार, राजनीति, संगठन, नेतृत्वलगायत सबै क्षेत्रमा नयाँ विकास गर्नुपरेको छ। तसर्थ हामीले समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाँ समाजवादको मोडेल, जसलाई हामीले समुन्नत समाजवाद (enhanced/enriched socialism) भनेका छौँ, विकास गर्नुपर्ने आवश्यकता देखेका छौँ।
हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक-राजनीतिक कार्यदिशा ठीक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका हैनौँ? तर अहिले समय र परिस्थितिअनुकूल नयाँ कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासबारे कुनै चर्चा नगरी खालि भावनात्मक ढंगले 'सबै पूर्वमाओवादी एक ठाउँमा आऊँ' भन्नुको के अर्थ रहन्छ?
माओ मरेको पनि आधा शताब्दी बितिसकेको, विश्वमा वस्तुगत र आत्मगत रूपले अपूर्व परिवर्तन आएको, पुरानो 'कम्युनिस्ट' सत्ताहरू सबैतिर तासको घरझैँ ढल्दै गइरहेको, भूमण्डलीकृत नवउदारवादी पुँजीवादले चरम असमानता, पर्यावरण विनाश, आणविक हतियारको विभीषिका, एआईको अनिश्चितता सिर्जना गरेर विश्व र मानवजातिलाई त्राहीमाम पारिरहेको अवस्थामा विचार, दर्शन, राजनीति, अर्थशास्त्र, समाजशास्त्र सबै क्षेत्रमा नयाँ संश्लेषण आवश्यक हुन्छ कि हुन्न? फेरि नेपालको जटिल भूराजनीति, चरम जातीय/भाषिक/क्षेत्रीय विविधता, अति अविकसित/अल्पविकसित अर्थतन्त्रलगायतको परिवेशमा समग्र राजनीति, पार्टी, नेतृत्वको पुनर्संरचना गर्नुपर्छ कि पर्दैन?
यति गम्भीर र दूरगामी महत्त्वको विषयमा पूर्व माओवादी मात्र हैन, सबै पार्टीभित्रका अग्रगामी सोच भएका व्यक्तिहरू, सार्वजनिक बौद्धिकहरू र विशेषत: सिर्जनशील तथा ऊर्जावान् नयाँ पुस्ताका युवाहरूबीच बृहत् बहस चलाएर नयाँ अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्नु आजको आवश्यकता हैन र?
दोस्रो कुरा, अब प्रचण्डको नेतृत्वमा 'भ्रष्टाचारविरोधी' ' सुशासनको निम्ति' आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज बुद्धि (common sense) को अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक हो। हिन्दी/उर्दू उखान- 'सौ चूहा खा के बिल्ली हज करने चली' भनेजस्तै हो (सय मुसा खाएपछि बिरालो हज गर्न गयो)!
जनयुद्धकालको मध्यचरणदेखि नै वर्ग-उत्थानीकरण हुँदै गएका प्रचण्ड र उनका आसेपासेहरूको शान्ति प्रक्रियायताको तीव्र नैतिक स्खलन तथा कथनी र करनीबीचको अन्तर कसले बुझेको छैन र?
हालै प्रकाशित र विश्वचर्चित पुस्तक CUCKOOLAND: How the Rich Own the Truth पढ्ने जो कोही प्रचण्डको असली रूपबाट बेखबर रहन सक्दैन। यदि त्यो सबै 'क्रान्तिनायकविरुद्ध साम्राज्यवादी षड्यन्त्र' हो भने विश्व इतिहासको सबभन्दा ठूलो साम्राज्य ब्रिटेनका नायक तत्कालीन युवराज र हालका राजाका अवाञ्छित गतिविधिबारे पनि सो पुस्तकले किन र कसरी खोतलेको होला? ती सबै महापुरुषहरूको चरित्र हत्या सो पुस्तकका लेखकले गरेको भए अहिलेसम्म ती ख्यातिप्राप्त खोजमूलक लेखकविरुद्ध मुद्दा हालेको खबर किन नपाइएको होला?
हो, अहिले प्रचण्ड आफ्नो पछिल्लो कार्यकालमा केही भ्रष्टाचारका फाइल अघि बढाएबापत भित्री र बाहिरी शक्तिहरूको तारो बनेको रोइलो गर्दै हिँडिरहेछन्। तर तिनै भित्री र बाहिरी शक्तिको आडमा गत डेढ वर्षमा पटकपटक सत्ताको कुर्सी बदलेको कसरी बिर्सेका होलान्? अनि आफैँले पालेका साना खसी बलि चढाउनु कुन ठूलो पौरख हो र?
अन्त्यमा, तैँले प्रचण्डलाई किन गोरखा लगेर आफ्नो निर्वाचन क्षेत्र छोडिस् त भन्ने महानुभावहरूलाई मेरो खुलस्त भनाइ छ- म राजनीतिमा लागे पनि अन्तर्यमा ऋषिमन भएको मान्छे हुँ। देशमा निरन्तर राजनीतिक अस्थीरता भइरहेको, गरिबी र बेरोजगारीले युवा पलायन बढिरहको र टीआरसीलगायतका शान्ति प्रक्रियाका काम पूरा नभइरहेको तत्कालीन विशिष्ट स्थितिमा पूर्वप्रम तथा नेका सभापति शेरबहादुर देउवा र प्रचण्डलाई बालुवाटारमा सँगै राखेर स्वेच्छाले आफू चुनाव नलड्ने तर उहाँहरू दुवैलाई सरकार बाहिर रहेर ती मुद्दामा पूर्ण रूपले सघाउने वाचा गरेको हुँ।
तर चुनावपछि प्रचण्डको चरम निजी सत्तालिप्सा पुन: बौरिइहाल्यो। पहिले एमाले-माओवादी सरकार बन्यो। त्यसपश्चात् पनि कांग्रेस-एमाले-माओवादी र अन्यसहितको राष्ट्रिय सरकार बनाएर ती काम सम्पन्न गर्ने कुरा भएकै हो। तर भूराजनीतिको प्रवेश र प्रचण्ड त्यसको प्रमुख गोटी बन्ने सिलसिलापछि सबै भताभुंग भयो। त्यसयताको म्युजिकल चेयर र मूलत: प्रचण्डको विविध लज्जास्पद हर्कतको दुष्परिणाम जगजाहेरै छ।
फेरि पनि इतिहासको गति रोकिन्न। देशले अग्रगामी निकास खोज्छ खोज्छ! हाम्रो हालैको पोखरामा सम्पन्न विधान अधिवेशन र नेसपा (नयाँ शक्ति) को पुनरोदय त्यही दिशाको विनम्र पाइलो हो।
Shares

प्रतिक्रिया