राजनीति


प्रधानमन्त्रीलाई तीन महिना भेटघाटमा कडाइ, यसरी चलाउनेछन् सरकार

प्रधानमन्त्रीलाई तीन महिना भेटघाटमा कडाइ, यसरी चलाउनेछन् सरकार

मणि दाहाल
फागुन २८, २०७६ बुधबार १४:४३,

गतसाता दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई संक्रमणको जोखिमका कारण तीन महिना भेटघाटमा कडाइ गरिने भएको छ।

त्यसका लागि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुनुअघि नै बालुवाटारस्थित सरकारी निवासमा भेटघाटलगायत विषयमा विशेष व्यवस्था गर्न लागिएको छ।

अति आवश्यक भेट मात्रै हुने र केही समय त्यसरी भेट गर्दा पनि प्रधानमन्त्री र अन्य मानिसबीच निश्चित दूरी कायम गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘प्रधानमन्त्रीलाई संक्रमण हुन नदिने जिम्मेवारी परिवार, सचिवालय, मन्त्रीहरु र पार्टीलगायत सबैको हो। चिकित्सकहरुले के भन्दछन् त्यसलाई हामी सबैले अनुसरण गर्नुपर्छ,’ थापाले भने, ‘चिकित्सकले प्रधानमन्त्रीलाई तीन महिनासम्म संक्रमणको जोखिम हुने बताएका छन्। त्यसैले अति आवश्यक भेटघाट मात्र हुनेछ। प्रधानमन्त्री सहभागी नभई नहुने बैठकहरुमा सहभागी हुनुहुनेछ।’

गत बुधबार शिक्षण अस्पताल महाराजगञ्जमा उनको मिर्गौलाको दोस्रो सफल प्रत्यारोपण गरिएको थियो। त्यसपछि ओली अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका छन्।

ओलीले अस्पतालबाट चाँडै डिस्चार्ज हुन चाहेपनि निवासमा आवश्यक प्रबन्ध भएपछि मात्रै डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीले छिटै फर्किन चाहेको भएपनि निवासमा विशेष व्यवस्था भइनसकेको र परिवारबाट समेत केही दिन अस्पतालमै राख्न गरिएको अनुरोधअनुसार केही दिन ढिला गरिएको बताएकी थिइन्।

शाहकै संयोजनमा प्रधानमन्त्रीको रेखदेखका लागि नयाँ प्रबन्ध भइरहेको छ। बालुवाटारमा प्रधानमन्त्री निवास परिसरभित्रै एउटा नयाँ भवन निर्माण गरिएको छ। सोही भवनमै प्रधानमन्त्रीलाई राख्ने व्यवस्था गरिएको छ।

‘सानो भवन हो। त्यसमै आवश्यक व्यवस्था गरिनेछ,’ थापाले भने। थापाका अनुसार नयाँ संरचना भने थपिने छैन।

प्रधानमन्त्रीलाई सार्वजनिक रुपमा पूर्ण सक्रिय हुन कम्तीमा ६ महिना लाग्ने चिकित्सकहरुले बताएका छन्।

चुनावपूर्व प्रधानमन्त्री निकै सक्रिय रहेको स्मरण गर्दै थापाले त्यस्तो अवस्थामा पुग्न चाहिँ केही महिना लाग्ने बताए।

‘त्यतिबेला तीन महिनाको अवधिमा उहाँले ८० वटा आमसभालाई सम्बोधन गर्नुभएको थियो। त्यस्तो भीडभाडमा जानका लागि समय लाग्नेछ,’ उनले भने।

चिकित्सकहरुको ब्रिफिङका आधारमा प्रधानमन्त्री ६ महिनापछि चुनावअघिकै अवस्थामा जस्तै सक्रिय हुने थापाले विश्वास व्यक्त गरे।

महिनौं सक्रियरुपमा काम गर्न नसक्ने भएपछि सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टी र सरकार सञ्चालनको काम कसरी अगाडि बढाउने हुन् भन्नेमा आमचासो बढेको छ।

‘पार्टीको मामिला दुवै अध्यक्षबीच हुने सहमतिकै आधारमा चल्ने हो,’ थापाले भने, ‘पार्टी एकीकरणको काम ९९ प्रतिशत टुङ्गिसकेको हुँदा पहिले जस्तो दैनिक अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटिरहनु पर्ने अवस्था छैन।’

थापाले प्रधानमन्त्री निवास फर्केपछि मन्त्रिपरिषद बैठक हुने बताए।

‘कहिलेकाहीँ ढिलो चाँडो त भइहाल्छ। अस्पताल भर्ना हुनुअघि नै आवश्यक निर्णय गर्नुभएको छ,’ उनले भने।

प्रधानमन्त्री अस्पताल भर्ना हुनुअघि फागुन १८ गते मन्त्रिपरिषदको बैठक बालुवाटारमै गरिएको थियो। अस्पताल भर्ना हुने दिन बिहान पनि ओलीले योजना आयोगको बैठकको अध्यक्षता गरेका थिए।

प्रधानमन्त्रीलाई पहिलोपटक १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गर्दाको समयभन्दा सावधानी, अनुभव, चेतना र उपलब्ध सुविधाका हिसाबले अहिले सहज रहेको थापाले बताए।

‘पहिलोपटक प्रत्यारोपणपछि अनुशासनमा बसेर खानपान, उठबस, दौडधूप गर्दै आउनुभएको हो,’ उनले भने।

प्रधानमन्त्री ओलीको २०६४ साउनमा दिल्लीस्थित अपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण भएको थियो। नियमित रुपमा औषधि सेवन गर्ने प्रधानमन्त्री ओलीको बेलाबेलामा संक्रमण हुनेगरेको थियो। ओलीले त्यसको उपचार विदेशमा गराउँदै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .