राजनीति


‘कोरोनाकाे सूचना बहुकेन्द्रले दिँदा भ्रम बढ्यो’

‘कोरोनाकाे सूचना बहुकेन्द्रले दिँदा भ्रम बढ्यो’

नेपालखबर
फागुन २८, २०७६ बुधबार १४:४८,

राजनीतिक दलहरुले कोरोना संक्रमण विरुद्धको जोखिम न्यूनीकरणका लागि एकिकृत कार्ययोजना बनाई अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।

उच्चस्तरीय समन्वय समितिले बुधबार गरेको सर्वदलीय छलफलमा राजनीतिक दलहरुले कोरोना संक्रमण बारेको सूचना सम्प्रेषण, अस्पतालहरुमा गर्नुपर्ने आवश्यक तयारी, हवाई र स्थल मार्गमा अपनाउनुपर्ने सावधानी, विदेशबाट आएका नागरिकको ट्रेस, प्रभावित बन्दै गएको मुलुकको अर्थव्यवस्थालाई गर्नुपर्ने सम्बोधन लगायत विषयलाई एकिकृत कार्ययोजना मार्फत सम्बोधन गर्न सुझाव दिएका हुन्।

कार्यदल बनेपछि एकीकृत कार्ययोजना बनाएपछि पनि बहुकेन्द्रबाट सूचना सम्प्रेषण हुनुको अर्थ नरहेको भन्दै दलहरुले एकद्वार प्रणालीबाट सूचना सम्प्रेषण गर्न सुझाव दिएका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले हवाईमार्गबाट आउने अतिसंक्रमित र जोखिमका देशहरुबाट आएकालाई रोग नभएको प्रमाण पत्रलाई मात्रै आधार नमानेर कम्तिमा १४ दिन क्वारेन्टायनमा बस्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको बताए।

त्यसैगरी बाहिरबाट आएका नागरिकको भेटघाट तथा बसाईको ट्रेस गर्न, अस्पतालमा आधारित तयारी गर्न, सरकारी अस्पतालको क्षमता बढाउन, निजी क्षेत्रसँग पनि साझेदारी गर्न र प्रदेशमा पनि आवश्यक तयारी गर्न आफूहरुले दिएको सुझावलाई सरकारले सकारात्मक लिएको जानकारी दिए। नेता थापाका अनुसार सरकारले अबदेखि कोरोना संक्रमणबारे स्वास्थ्य सम्बन्धी सूचना स्वास्थ्य मन्त्रालयबाट र बाँकी सूचना सरकारका प्रवक्ताबाट मात्रै दिने गरि ‘बहुकेन्द्रको’ अभ्यासलाई बन्द गर्ने जनाएको छ।

सर्वदलीय बैठकमा सरकारले कोरोना संक्रमणले पारेको अर्थतन्त्रको प्रभाव सम्बोधन गर्न केही दिन भित्र नयाँ प्याकेज ल्याउने प्रतिवद्धता पनि जनाएको छ। बैठकमा आपूर्ति व्यवस्थाका बारेमा तत्काल आत्तिनुपर्ने अवस्था नरहेको र सरकारकै नियन्त्रणमा रहेको जानकारी गराईएको थियो। तर पर्यटन लगायत क्षेत्रमा परेको प्रभावका बारेमा अध्ययन भईरहेकाले केही दिन भित्र प्रभावित क्षेत्रलाई सम्बोधन गर्ने गरि नयाँ प्याकेज ल्याउने आश्वासन सरकारले दिएको छ।

थापाले भन्नुभयो ‘अर्थतन्त्रको सन्दर्भमा भारतसँग ठूलो व्यापार भएका कारणले तात्कालिक प्रभाव पर्यटन र अन्य केही क्षेत्रमा परेको छ। अहिलेसम्म आत्तिहाल्नुपर्ने अवस्था नरहेको र प्रभाव देखिन थालेकाले त्यसको अनुगमन गरेर केही दिन भित्र नयाँ प्याकेज ल्याउछाैं भन्नुभएको छ। हामी संसदमा प्रतिक्षा गर्छौं।’

बैठक पछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले बैठकमा उच्चस्तरीय समन्वय समितिले अहिलेसम्म गरेका कामलाई राजनीतिक पार्टीहरुले सकारात्मक रहेको र सरकारका कामलाई धन्यवाद दिदै केही सुझाव पनि दिएको जानकारी दिए। स्वास्थ्य संस्थाहरुलाई सुदृढ बनाउने, सरोकारित निकायबीच समन्वयात्मक ढंगले काम गर्दे सूचना सम्प्रेषण गर्नुपर्ने दलहरुको सुझावलाई सरकारले सकारात्मक लिएको बताए।

विश्व स्वास्थ्य संगठन नेपाल पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताएसंग सरकारले कोरोना संक्रमणबाट जोगिनका लागि उच्च सर्तकता अपनाउका लागि आवश्यक तयारी सुरु गरिसकेको छ। कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि उपप्रधानमन्त्रीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय समन्वय समितिले सरकारबाट भईरहेका काम र गर्नुपर्ने तयारीबारे बुधबार दलहरुसँग छलफल गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad