जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको गिरफ्तारीलाई प्रतिशोध र निषेधको राजनीति भन्दै बिराेध गरेका संज्ञा दिएका छन्।
सामाजिक सञ्जालमार्फत् राउले रविको गिरफ्तारीलाई ‘सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठ्ने प्रयास’ भन्दै विरोध गरेका हुन्।
‘२१ सीट भएको नयाँ/राष्ट्रिय पार्टीका सभापति रविजीको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिन,’ राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो। भावी पुस्ताको स्वर्णिम भविष्यलाई भ्रुणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राउ राज्यद्वारा गरिएको ‘फ्रेमिङ्ग’ हो।’
उनले लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनु नहुनेमा पनि जोड दिएका छन्। राउतले पछिल्लो दशकमा सरकारद्वारा ऐन-कानूनको दुरुपयोगबाट सर्वाधिक दमनको शिकार भएको मान्छे आफू भएको पनि बताएका छन्।
‘दुई दर्जनभन्दा बढी पटक हिरासत/जेल जानु परेको मान्छे म। यहाँको ऐनकानून नै त्यस्तै छ। राज्यले चाहेमा सडकमा हिँडिरहेको होस् कि घरमै सुतिरहेको जोसुकै, जस्तोसुकै निर्दोषलाई समातेर २५/५० दिन त अनुसन्धानको नाममा त्यस्तै हिरासतमा राखिदिन सक्छ,’ राउतले भनेका छन्, ‘अदालतले पछि उनलाई जतिसुकै निर्दोष साबित गरे तापनि राज्यले कुनै माफी समेत माग्नु पर्दैन।’
शक्तिको दुरुपयोग गरेर राज्य चलाउनेहरूले, सरकारमा बस्ने पार्टी र शीर्षनेताहरूले यस्तो गर्दै आएको राउतको आरोप छ।
‘उनीहरूले आफ्नो वा आफ्नो पार्टीको विरोध गर्नेलाई तह लगाउन, आफ्नो पार्टीमा जबरजस्ती प्रवेश गराउन, अनुचित आर्थिक असुली गर्न त्यसको प्रयोग हतियारको रूपमा गर्दै आएका छन्। एउटा निमुखा, गरिब आम मानिसको त हत्या हुँदासमेत प्रहरीले उजुरी दर्ता गर्न मानिराखेको हुँदैन।’
Shares

प्रतिक्रिया