राजनीति


रवि पक्राउविरुद्धको प्रदर्शनमा माओवादी र समाजवादी सहभागी हुन्छन्?

रवि पक्राउविरुद्धको प्रदर्शनमा माओवादी र समाजवादी सहभागी हुन्छन्?

सरकारविरुद्ध योजना बनाउन शुक्रबार बसेको विपक्षी दलहरुको बैठक (फाइल तस्बिर)


नेपालखबर
कात्तिक ३, २०८१ शनिबार १२:५६, काठमाडौँ

पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार काठमाडौँ र पोखरामा प्रदर्शनको आयोजना गरेको छ। 

पोखराको चिप्लेढुंगामा बिहान ११ बजे र काठमाडौँको माइतीघर मण्डलामा दिउँसो १ बजे प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ। 

रास्वपाले आफ्ना सभापतिविरुद्ध राजनीतिक प्रतिशोध साधिएको भन्दै सरकार विरोधी प्रदर्शनमा ऐक्यबद्धताका सबैलाई अपिल समेत गरेको छ। 

रवि पक्राउ पर्नुअघि बसेको विपक्षी दलहरुको बैठकले सरकारले प्रतिशोध साँधे त्यसविरुद्ध बोल्ने धारणा बनाएको थियो। रवि पक्राउ परिसकेपछि भने विपक्षी दलहरुले के गर्लान? के प्रदर्शनमै माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलको सहभागीता होला?

दुवै पार्टीले शनिबार आयोजना भएको प्रदर्शन विशुद्ध रास्वपाको भएकाले त्यहाँ आफूहरुको सहभागीता नहुने बताएका छन्।

‘त्यो त उहाँहरुको कार्यक्रम होला, त्यस्तो संयुक्त कार्यक्रम छैन,’ नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले नेपालखबरसँग भने, ‘यो कानुनी प्रक्रियामा गएको हुनाले अदालतले यो सबै कुरालाई निरुपण गर्ला।’

प्रदर्शनमा सहभागीतालाई लिएर नेकपा एकीकृत समाजवादीको पनि त्यस्तै धारणा छ। बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे भन्छन्, ‘त्यो विशुद्ध उहाँहरुको पार्टीको मामिला हो। प्रदर्शनमा हाम्रो सहभागीता हुँदैन।’

यद्यपि सरकारले रविमाथि पूर्वाग्रह राखेर सरकारले प्रक्राउ गरेको भन्ने बुझाइ भने दुवै पार्टीको छ। ‘सरकार राजनीतिक दाउपेचतिर लागेको जस्तो देखिन्छ,’ माओवादी केन्द्रका उपमहासचिव बस्नेत भन्छन्, ‘तर, यो कानुनी प्रक्रियामा गएको कारणले अदालतले यो विषयमा उचित निर्णय दिन्छ भन्ने हाम्रो विश्वास छ।’

पाण्डे भने सरकारले त्यस्तै मुद्दा लागेका सत्तारुढ दलका मान्छेहरुलाई बचाइरहेको आरोप लगाउँछन्।  ‘रविलाई लागेको जस्तै मुद्दा त धनराज गुरुङको श्रीमतिलाई पनि लागेको छ, लेखा समिति सभापति ऋषि पोखरेलको श्रीमतिलाई पनि लागेको छ,’ उनको भनाइ छ, ‘उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने हो। त्यो त सरकार गरिरहेको छैन। सरकारमा भएकाले आफ्नो पक्षलाई जोगाएका छन्, लुकाएका छन्। र, विपक्षमा भएकालाई कारबाही गरेका छन्।’ 

यद्यपि कारबाही गर्नु हुँदैन भन्ने आफूहरुको मत नभएको भन्दै पाण्डे भन्छन्, ‘गलत छ भने अनुसन्धान गरोस्, कारबाही गरोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad