राजनीति


रवि पक्राउपछि रास्वपा कार्यकर्ताको चासो : अब सभापति को बन्ला?

रवि पक्राउपछि रास्वपा कार्यकर्ताको चासो : अब सभापति को बन्ला?

गीता चिमोरिया
कात्तिक २, २०८१ शुक्रबार २१:४५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ पर्ने जानकारी पाएलगत्तै शुक्रबार दिउँसैदेखि पार्टी कार्यालय वनस्थलीमा कार्यकर्ता र समर्थकको बाक्लो उपस्थिति थियो।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी हुनसक्ने आशंकाबीच समर्थकहरू पार्टी कार्यालयमा भेला भएका थिए। साथै, प्रहरी पनि ठूलो संख्यामा उपस्थित थिए।

रविबारे बिहीबार शीर्ष नेताहरूको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दा जवाफमा ओलीले कानुन अनुसार नै सबै हुने बताएका थिए। शुक्रबार बसेको विपक्षी दलको बैठकमा पनि यसबारे कुरा भएको थियो।

अदालतको अनुमति लिएर जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार साँझ लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी गर्‍यो।

शुक्रबार अदालतबाट अनुमति लिएलगत्तै कास्की प्रहरीले लामिछानेलाई पक्राउ गरेर पठाइदिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्राचार गरेको गरेको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्माले पठाएको पत्र प्राप्त हुनासाथ यी तीनै युनिटका प्रहरी राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थलीमा पुगेका थिए।

सीआईबीका प्रवक्ता समेत रहेका एसपी होबिन्द्र बोगटीको नेतृत्वमा टोली त्यहाँ पुगेको हो।

पार्टी कार्यालयमा कार्यकर्ता र समर्थकको भिड बढ्दै थियो। रास्वपाले सभापतिलाई पक्राउ गर्न आएका प्रहरीको प्रतिवाद नगर्न कार्यकर्ता र समर्थकलाई निर्देशन दिएको थियो।

पक्राउ पुर्जी जारी भएलगत्तै लामिछानेले भने सामाजिक सञ्जाल (फेसबुक र एक्स) मा लामो पोस्ट लेख्दै आक्रोश पोखेका थिए। उनले ‘सरकार मरेको र आफूहरूलाई जुठो परेको’ अभिव्यक्ति दिएका थिए।

सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली पार्टी कार्यालय पुगेको करिब दुई घण्टाभन्दा बढी समय समर्थकहरू पार्टी कार्यालयको आँगन र बाहिर सडकमा उभिएर बसिरहेका थिए। रवि पक्राउ र रास्वपाको भविष्यबारे उपस्थित कार्यकर्ता र समर्थक विभिन्न अड्कल काटिरहेका थिए।

प्रहरी पुगेको करिब दुई घण्टापछि लामिछानेले पार्टी कार्यालयमा भेला भएका कार्यकर्ता र समर्थकलाई छोटो सम्बोधन गरे। उनी बाहिर निस्कँदा उपस्थित भिडले हुटिङ गरेको थियो। त्यसअघि भने करिब दुई घण्टा उपस्थित समर्थक र कार्यकर्ता शान्त रूपमा बसिरहेका थिए। प्रहरीले लामिछानेलाई पक्राउ गरेपछि उपस्थित कार्यकर्ताले चर्को स्वरमा नाराबाजी गरेका थिए। ‘रवि दाइ– हाइ हाइ!’ भन्दै उनीहरू लामिछानेको समर्थनमा उत्रिए भने प्रधानमन्त्री केपी ओली र सरकारविरुद्ध नाराबाजी गरे।

लामिछानेले पक्राउ पुर्जीमा हस्ताक्षर गर्दै आफ्नै हातले कयौँ भ्रष्टाचारीलाई थुन्ने दाबी समेत गरे।

रास्वपा पार्टी कार्यालयमा भेला भएका कार्यकर्ता र समर्थकमा रवि पक्राउबारे विभिन्न चासो सुनिन्थ्यो। उनीहरुका मुख्य चासो यस्ता थिए :

सहकारीको पैसा साँँच्चै खाए होलान्? 
रवि पक्राउ पर्ने खबर सुनेर पार्टी कार्यालयमा पुगेका केही समर्थक रविले सहकारीको पैसा साँँच्चै खाए होलान् त भनेर एकआपसमा कुराकानी गरिरहेका थिए। यदि उनले साँच्चै सहकारीको पैसा खाएको भए कानुनले कडाभन्दा कडा सजाय गर्नुपर्ने बताइरहेका थिए। 

आफू लामिछानेको ठूलो फ्यान भएको भन्दै एक महिलाले उनलाई पक्राउ गर्ने सुनेपछि हेर्न आएको बताइन्। रविले गलत काम गरेको भए आफूहरूजस्तो समर्थकलाई चित्त दुख्ने भन्दै उनीहरू कानुनले निष्पक्ष छानबिन गर्नुपर्ने बताइरहेका थिए। 

कति दिनमा छुट्लान्? 
रवि पक्राउ गर्न पुगेको प्रहरी टोली पार्टी कार्यालयमा थियो। कार्यालयको गेटबाहिर रहेका केही समर्थकको चासो देखिन्थ्यो– रवि कति दिनमा छुट्लान्?

कतिपय उनी केही दिनमै छुट्ने अड्कल काटिरहेका थिए। गृहमन्त्री समेत भइसकेको र सांसद रहेकाले उनी छिटै छुट्ने तिनको तर्क थियो।

मुकुल ढकाल खै? 
पार्टी कार्यालयमै उपस्थित एक समर्थक महामन्त्री मुकुल ढकाल कहाँ होलान् भन्ने जिज्ञासा राखिरहेकी थिइन्। ढकाल पार्टीबाट बर्खास्तीमा परेको जानकारी नभएकाले हुनसक्छ, ती समर्थक अन्य समयमा रविसँगै देखिने ढकाल केही समयदेखि नदेखेको बताइरहेकी थिइन्।

‘एकजना ढकाल हुनुहुन्थ्यो नि, महामन्त्री कि के हुनुहुन्थ्यो। आजकाल देखेकै छैन,’ उनी भनिरहेकी थिइन्।

अब सभापति को बन्ला? 
रास्वपा सभापति रवि लामिछाने पक्राउ परेसँगै सभापति (कार्यवाहक) को जिम्मेवारी कसले पाउला भन्ने जिज्ञासा पनि समर्थहरूमाझ सुनिन्थ्यो। 

विधान अनुसार स्वतः उपसभापतिले जिम्मेवारी पाउने व्यवस्था भए पनि रास्वपामा दुईजना उपसभापति भएकाले कार्यवाहकको जिम्मेवारी कसले पाउने भन्ने बारेमा निर्णय भएको छैन। पार्टीले यसबारेमा निर्णय गरिसकेको छैन। सभापति लामिछानेले पनि यसबारेमा केही नभनेकाले निर्णय नभएको उपसभापति डीपी अर्यालले बताए। 

लामिछानेसँगै पोखरा हिँडेका अर्यालले नेपालखबरसँगको कुराकानीमा यसबारे निर्णय नभएको बताएका हुन्। 

विमानबाट पोखरा जान नमानेपछि लामिछानेलाई स्थलमार्ग हुँदै पोखरा लगिएको छ। उनलाई पक्राउ गरेर प्रहरीले लगिसकेपछि पनि निकैबेर कार्यकर्ता र समर्थक पार्टी कार्यालयमै बसिरहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad