प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले शुक्रबार समसामयिक विषयमा छलफल गर्ने भन्दै विपक्षी दलको बैठक राख्यो।
माओवादीका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूलाई फोन नै गरेर बैठकमा बोलाए।
नयाँ बानेश्वरस्थित संसद भवनमा शुक्रबार बिहान पौने १० बजे सुरु भएको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी बन्यो।
लोसपा अध्यक्ष महन्थ ठाकुर आफैँ बैठकमा सहभागी भए। यस्तै, नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि नयाँ बानेश्वर पुगिन्।
लोसपा र नाउपा सत्तामा छन्। लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री छन् भने नाउपाका अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन्।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी पार्टी, आम जनता पार्टी (आजपा) अहिले संसदको विपक्षी दल हुन्।
उनीहरूका शीर्ष नेता सहभागी हुनु स्वाभाविक नै हो।
तर, केपी शर्मा ओली नेतृत्वको क्याबिनेटमै रहेका लोसपा र नाउपा विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्तारुढ दलभित्र खैलाबैला मच्चिएको छ।
महन्थ विपक्षी दलको बैठकमा सहभागी हुन नयाँ बानेश्वर पुग्नासाथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चासो राखे।
देउवाका प्रमुख स्वकीय भानु देउवाले ठाकुरका प्रमुख स्वकीय सत्येन्द्र मिश्रलाई टेलिफोन गरेर बैठकको बारेमा जिज्ञासा राखे। सभापति देउवाका पक्षबाट हरेक सन्देश उनका सहयोगी भानुले नै प्रवाह गर्छन्। त्यसैलाई सभापति देउवाको धारणा मान्ने गरिएको छ।
‘मलाई भानु दाइले फोन गरेर प्रचण्डले बोलाएको बैठकमा महन्थ ठाकुर किन जानुभएको, के भएको रहेछ बैठकमा? भनेर सोध्नुभयो,’ सत्येन्द्रले भानुलाई दिएको जवाफ उद्धृत गर्दै नेपालखबरसँग भने, ‘मैले महन्थजीलाई सोधेर भनिदिएँ, झुक्याएर बोलाउनुभएको हो। उहाँले बैठकमा केही बोल्नुभएनछ।’
तर, ठाकुरले बैठकमा खुलेर कुरा राखेको आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बताए।
ठाकुरको भनाइ उद्धृत गर्दै साहले नेपालखबरसँग भने, ‘सत्तामा भएर पनि हामी आफैँ पीडित छौँ। सत्तापक्षमा पनि सत्ताजस्तोमा छैनौँ। हाम्रा मान्छेहरू अझै बन्दी छन्।’
महन्थका सहयोगी सत्येन्द्रका अनुसार अध्यक्ष महन्थलाई माओवादी अध्यक्ष प्रचण्डले आफैँ फोन गरेर बोलाएका हुन्।
‘हामी त सरकारमा छौँ, अहिले कुनै समस्या पनि छैन। नत्र त कांग्रेसका पनि कोही न कोही नेता बैठकमा पुगिहाल्थे नि,’ सत्येन्द्रले थपे, ‘सरकारमा रहेर पनि विपक्षीसँग मिल्ने कुरा हुँदैन।’
अन्य दलका नेतालाई पनि बोलाएको प्रचण्डले भनेपछि महन्थ बैठकमा गएको सत्येन्द्रलाई बताएका थिए।
‘तपाईंसँग कुरा गर्नु छ, आउनुस् न भनेर बोलाउनुभएछ। अनि महन्थजी बानेश्वर बैठकमा जानुभयो,’ सत्येन्द्रले ठाकुरको भनाइ उद्धृत गर्दै भने, ‘त्यहाँ पुग्दा त अरू पार्टीका नेताहरू बसेका रहेछन्। अनि बैठकमा केही बोलिनँ। के बोल्नु, अनि निस्किएँ।’
‘पार्टीबाट महन्थजीलाई मात्र प्रचण्डजीले फोन गर्नुभएको रहेछ, अरु सबै पार्टीका नेतालाई बोलाएको छु भन्नुभएछ,’ सत्यन्द्रले भने, ‘नत्र जानेवाला थिइनँ, झुक्याएर बोलाउनुभएको हो।’
पार्टीमा महन्थको ब्रिफिङ- सरकारमा भए पनि हामी पीडित
विपक्षी दलको बैठकमा सहभागी भएर ठाकुर निवास फर्किए। खाना खाएर उनी पार्टी कर्याालय गए। त्यहाँ उनलाई विपक्षी दलको बैठकमा सहभागी भएको विषयमा नेताहरूले चासो राखे।
त्यसपछि उनले ब्रिफिङ गरेको एक नेताले जानकारी दिए।
‘८ बजे प्रचण्डजीले फोन गर्नुभएको थियो। केही छलफल गर्नु छ। पार्टीका नेतालाई पनि बोलाएको छु भन्नुभयो। अनि म बैठकमा जान तयार भएँ र गएँ,’ ती नेताले महन्थलाई उद्धृत गर्दै भने, ‘त्यहाँ पुग्दा सत्तापक्षका नेता पनि आउनुभयो भनेर सबैजना उठ्नुभयो, एक छिन त हाँसो पनि भयो। प्रचण्डजीले मैले नै खबर गरेको हो भनेर जवाफ दिनुभयो।’
बैठकमा केहीबेर बाढीपहिरो र राहतको कुरा भयो। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलाई पक्राउ गर्न लागेको विषय कुरा उठ्यो।
‘ठीकै छ, विपक्षी होस् वा सरकार पक्ष होस्, बाढीपहिरोले क्षति त सबैतिर भएकै छ। राहत चाहियो नि त भनेर मैले बोलेँ,’ महन्थले अगाडि भने, ‘हाम्रै (लोसपाकै) केही प्रदेश सांसदमाथिको मुद्दाको विषय पनि उठाएँ। हामीहरूको प्रदेशका माननीय निलम्बनमा परेका छन्।’
रविका विषयमा भने आफूले केही धारणा नराखेको पार्टी नेताहरूसँग भनेका छन्। उनको भनाइ थियो, ‘उहाँहरूले विपक्षी दल एकै ठाउँमा उभिने कुरा गर्नुभयो। मैले त्यसबारे केही बोलिनँ।’
भाटभटेनीका गुरुङबारे कुरा हुँदै थियो : रञ्जिता
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले कांग्रेस र एमालेबाहेकका दलका नेताहरू बैठकमा देखेको बताइन्।
‘म अन्तिम समयतिर पुगेँ, उहाँहरू बसिरहनुभएको रहेछ,’ श्रेष्ठले भनिन्, ‘बैठकमा कांग्रेस र एमालेबाहेकका दलका नेताहरु हुनुहुन्थ्यो, महन्थ ठाकुर पनि हुनुहुन्थ्यो।’
आफू पुग्दा एमालेको पार्टी कार्यालय बनाइदिने भाटभटेनीका प्रमुख मीनबहादुर गुरुङको विषयमा कुरा भइरहेको सुनेको उनले बताइन्।
तर, एक घण्टा बढी समयसम्म चलेको बैठकमा केही गम्भीर विषयमा पनि छलफल भएको माओवादीका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए।
उनका अनुसार बाढी पहिरो लगायत प्रकृतिक विपद्को पूर्वतयारी, खोज, उद्धारमा सरकारले जिम्मेवारीका साथ काम गर्नुपर्ने थियो। त्यो गरेन। सरकार जनताप्रति जवाफदेही भइराखेको छैन।
‘सरकार पार्टीगत स्वार्थ, निहित स्वार्थमा राखेर अगाडि बढ्यो,’ बस्नेतले भने, ‘अध्यादेश ल्याएर साना पार्टीलाई कमजोर बनाउन, टुक्र्याउन खोजिँदैछ। यस प्रयासको विरोध गर्ने। अध्यादेश ल्याए प्रतिवाद गर्न सबै दल एकै ठाउँ उभिने निर्णय भएको छ।’
उनका अनुसार आफूहरूले उठाएका विषयमा सरकार गम्भीर नभए प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वानका लागि अगाडि बढ्ने सहमति पनि भएको छ।
त्यसका लागि तीन सदस्यीय कार्यदल गठन भएको छ।
उक्त कार्यदलमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य छन्।
संयन्त्रले प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिलाई ध्यानाकर्षण गराउनेछ।
Shares

प्रतिक्रिया