ad ad

राजनीति


नख्खु घटनाबारे गृहमन्त्रीको स्पष्टीकरण- सक्दो प्रयास गरेका हौँ, जाँदै नगएको होइन

नख्खु घटनाबारे गृहमन्त्रीको स्पष्टीकरण- सक्दो प्रयास गरेका हौँ, जाँदै नगएको होइन

नेपालखबर
असोज १५, २०८१ मंगलबार १५:४९, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकताका साथ गरिरहेको दाबी गरेका छन्। 

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले असोज ११ र १२ गतेको विपद्पछि सरकार तत्कालै खोज तथा उद्धारमा सक्रिय भएको जिकिर गरेका छन्। 

साथै, उनले ललितपुरको नख्खुमा बाढीमा परेका सर्वसाधारणहरूलाई समयमै उद्धार गर्नका लागि सरकार पुगेको भएपनि सम्भव नभएको प्रष्ट्याए।

‘नख्खुमा सरकारको उपस्थिति भएन, सरकार पुग्नै सकेन। सरकारले हेर्नै सकेन भन्ने होइन। हामीले प्रयत्न गरेको हो। सशस्त्र प्रहरी, नेपाल प्रहरी पनि त्यहाँ गएको छ। प्रहरीले उहाँहरूलाई उद्धार गर्ने प्रयत्न गरेको छ,’ गृहमन्त्री लेखकले भने, ‘हेलिकप्टरबाट पनि उद्धार गर्न सकिन्छ कि भनेर प्रयास गरिएको हो। प्रतिकुल मौसमका कारणले भएन। प्रयत्न गर्दागर्दै पनि उहाँहरू बग्नुभयो। ३ जनाको उद्धार भयो। २ जना बेपत्ता भएको अवस्था छ। सरकारको उपस्थिति नभएको, जाँदै नगएको, हेर्दै नहेरेको होइन। कोशिस गरेको हो।’

नख्खुबारे सांसदहरूले आलोचना गरेसँगै उनले त्यहाँ उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी पुगेको भएपनि प्रतिकूल मौसमका कारण उद्धार सम्भव नभएको बताए।

‘मृतकको परिवारलाई गृह मन्त्रालयले घोषणा गरे अनुरुपको दुई लाख रुपैयाँ ललितपुर जिल्लाले त आजै दिन सक्ने भनेको छ। आवश्यकता भएको जिल्ला व्यवस्थापन समितिहरुमा प्राधिकरणबाट आवश्यक रकम पठाइएको छ। यदि राहतका लागि रकमको अभाव भयो भने तत्काल रकम उपलब्ध गराइने कुरा सबैलाई जानकारी गराइएको छ,’ उनले भने। 

खोज, उद्धार, राहत, बिरामीहरुको उपचार, घाइतेहरुको उपचार र सडक आवागमनलाई सुचारू गर्ने विषयमा सरकार केन्द्रीत भएको उनको भनाइ थियो। 

विपद्‌‌मा परेर अहिलेसम्म २१८ जनाको मृत्यु भएको जानकारी गराउँदै उनले १४३ जना घाइते र २७ जना बेपत्ता भएको बताए। 

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्वयंसेवकहरूज्ञले ४ हजार २२२ जनाको सुरक्षित उद्धार गरेको पनि गृहमन्त्री लेखकले जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .