नेपाल कम्युनस्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई सफल बनाउनु अहिलेको केन्द्रीय कार्यभार भएको बताएका छन्।
प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं शपथग्रहण समारोहलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले समाजवाद निर्माणको आधार तयार गर्न सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताएका हुन्।
‘सरकार सफल नभए जनतामा निरासा छाउँछ, मुलुकको सामाजिक र आर्थिक रुपान्तरण हुन सक्दैन, वैदेशिक हस्तक्षेप वृद्धि र प्रतिगमनमा खतरा उत्पन्न हुनसक्छ’, उनले भने। प्रवक्ता श्रेष्ठले पार्टीलाई विग्रहमा लैजाने वा एकतालाई खलबलाउने कुनै पनि कुरा छुट दिन नहुने भन्दै सरकारले सुशासन र विकासमार्फत समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिए।
उनले यसका लागि वस्तुपरक र अध्ययनशील पत्रकारिता गर्न पत्रकारलाई आह्वान गर्दै मुलुकको रुपान्तरण तथा विभिन्न चरणमा भएका परिवर्तनकारी आन्दोलनमा पत्रकारले खेलेका भूमिका असाधारण रहेका चर्चा गरे। पार्टी र सरकारलाई तीव्रगतिका साथ अघि बढाउन सक्षम भई मुलुक रुपान्तरणका लागि सक्रिय हुनुहुनेमा विश्वास व्यक्त गर्दै उनले सूचना प्रविधिको विकाससँगै अझ बढी प्रेस जगतको आवश्यकता बढेको बताए।
सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गर्न पार्टी एकता भएको उल्लेख गर्दै उनले रणनीतिक समाजवादको आधार तयार गर्नु नै अहिले पार्टीको मुख्य कार्यभार रहेकोमा जोड दिए। उनले जनताको बहुदलीय जनवाद र २१औँ शताब्दीको जनवादको विचारलाई हाल थाति राखी समाजवादोन्मुख जनताको जनवादलाई कार्यक्रमका रुपमा अघि सारको स्पष्ट गरे।
नेकपाका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटीका इञ्चार्ज अष्टलक्ष्मी शाक्यले जनतालाई यथार्थपरक सूचना प्रवाह गरी प्रेस सङ्गठनलाई जवाफदेहिताका साथ अघि बढ्न आग्रह गरिन्। पत्रकारिता क्षेत्रमा महिला पत्रकारको सहभागिता बढाउनुपर्ने भन्दै उनले संगठन तथा पार्टीलाई समानुपातिक तथा विभेदमुक्त बनाउनुपर्ने बताइन्। रासस

प्रतिक्रिया