ad ad

राजनीति


हिमालयन टी गार्डेनमा पूर्वराजासँग राप्रपा अध्यक्ष लिङ्देनको ‘लन्च मिटिङ’

हिमालयन टी गार्डेनमा पूर्वराजासँग राप्रपा अध्यक्ष लिङ्देनको ‘लन्च मिटिङ’

फाइल फोटो


नेपालखबर
भदौ २६, २०८१ बुधबार १६:७, झापा

केही दिनअघि झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटघाट भएको छ। पार्टी कार्यक्रमको सिससिलामा केही दिनदेखि पूर्व क्षेत्रमै रहेका अध्यक्ष लिङ्देनलाई पूर्वराजा शाहले लन्चसहितको भेटघाटका लागि दमकस्थित आफ्नै चिया बगानमा आमन्त्रण गरेका हुन्।

सोमबार विराटनगरमा र मंगलबार बिर्तामोडका कार्यक्रममा सहभागी भएर अध्यक्ष लिङ्देन पूर्वराजा भेट्न हिमालयन टी गार्डेन पुगेका हुन्।

पूर्वराजासँगको भेटघाटबारे अध्यक्ष लिङ्देनले मुख खोलेका छैनन्। तर पूर्व क्षेत्रमै रहेका राप्रपाका एक नेता भने राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेको दलको अध्यक्ष र पूर्वराजाका बीच भेटघाट हुनु, विचार विमर्श र छलफल हुनु सामान्य भएको बताउँछन्।

‘विगतमा पनि धेरैपटक स्नेहपूर्ण भेटघाट भएको छ, यो नियमित भेटघाट हो,’ ती नेताले भने।

केही महिनाअघि लिङ्देनकै विशेष अग्रसरतामा पूर्वराजा ज्ञानेन्द्रलाई बिर्तामोडको एक विद्यालयमा पृथ्वीनारायण शाहको शालिक अनावरणमा लगिएको थियो भने धुलाबारीदेखि बिर्तामोडसम्म ‘रोड सो’ गरिएको थियो।

लिङ्देनले त्यसबेला पनि पूर्वराजासँग भेटघाट र छलफल गरेका थिए।

राप्रपाले राजसंस्था पुनर्स्थापनाका अलावा हिन्दुराष्ट्र, प्रदेश संरचनाको खारेजी लगायतका विषय उठाउँदै आएको छ। पार्टीले बोकेको एजेन्डाका पक्षमा स्वदेश तथा विदेशमा रहेका नेपालीको जनमत बढ्दै गएको राप्रपाको दाबी रहेको छ।

राप्रपाले राजादेखि सबै राजनीतिक शक्ति अटाउने व्यवस्था हुनुपर्ने भन्दै नवीन समझदारीको प्रस्तावसमेत गरेको छ। साथै उसले आन्दोलनको अपरिहार्यतामाथि समेत जोड दिएको छ।

‘प्रमुख दुई पार्टी मिलेर गठबन्धन सरकार बनाए पनि जनतामा आशा पैदा हुन नसकेको, राष्ट्रिय स्वाभिमान सबल हुन नसकेको, आर्थिक, सामाजिक, सांस्कृतिक रूपले देश क्रमशः कमजोर बन्दै गएको, सुशासन कायम हुन नसकेको र जनता विकल्पको खोजीमा रहेको परिप्रेक्ष्यमा पूर्वराजा र अध्यक्ष लिङ्देनबीच भएको भेटमा स्वाभाविक रूपमा सम्भावित विकल्प र यी विषयमा समेत घनीभूत कुराकानी भएको हुन सक्छ,’ स्रोतले भन्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .