ad ad

राजनीति


संसदमा एकैदिन ३९ सांसदले उठाए कोरोना सम्बन्धी प्रश्न

संसदमा एकैदिन ३९ सांसदले उठाए कोरोना सम्बन्धी प्रश्न

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ९:५४,

प्रतिनिधि सभा बैठकमा ३९ जना सांसदले एकैपटक कोरोना(कोभिड–१९) फाइरस सम्बन्धि प्रश्न उठाएका छन्।

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा उक्त संख्याका सांसदहरुले विश्वभर फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न सरकारको तयारी लगायत विषयमा प्रश्न गरेका थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसद गगन थापाले कोरोना भाइरस संक्रमण तयारीबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका छन्।

प्रस्तावलाई सांसदहरु सञ्जय कुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार केसी र डा. नारायण खड्काले समर्थन गरेका थिए।

‘कोराना संक्रमणबारे जानकारी भए पनि मानिस त्रसित हुन सक्छन्। त्यसका लागि आवश्यक तयारी आवश्यक छ’, प्रतिनिधि सभामा शुक्रबार सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै सांसद थापले भने, ‘सामग्रीको आपूर्ति तलमाथि गर्न दिन्नौ भन्ने सरकारले जनतालाई आश्वस्त पार्न सक्नुपर्छ।’

सांसद थापाले कोरोना संक्रमणबाट बच्नका लागि एकीकृत कार्यसञ्चालन गर्न र तत्काल एक्सन प्लन सार्वजनिक गर्न सरकारसँग आग्रह गरे। छरपस्ट नभई एकीकृत रुपमा एक्सन प्लान कार्यान्वयनमा ल्याइनुपर्ने उनको भनाइ थियो।

‘अहिलेसम्म नेपालको अवस्था सुखद भए पनि इरानकोजस्तो एकै पटक संक्रमणको अवस्था देखिए के गर्ने भन्नेबारे समयमै सोच्नु पर्छ’, सांसद थापले भने, ‘सीमामा चेक जाँच, स्वास्थ्य चेकजाँचको क्षमतासहितका कारणले विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको छ। यस्तो अवस्थामा संघ, प्रदेश र स्थानीय सरकार मिलेर एकीकृत प्रयासमा जुट्नुपर्छ।’

यस्तै सत्तारुढ नेकपाकी सांसद रामकुमारी झाक्रीले कोरोनाको प्रकोपको नाममा देशमा कालोबजारी बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न तीनैवटा सरकारले तयारी गर्नुपर्ने बताएकी छिन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कोरोना प्रकोप रोक्न सरकारले गरेको तयारीबारे पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै उनले बजारमा मास्क, खाद्यान्न लगायतका वस्तुको हुन थालेको कालोबजारी नियन्त्रण गर्न केन्द्र, प्रदेश र स्थानीय तहलाई आग्रह गरिन्।

‘कालाेबजारी नियन्त्रणका लागि सरकार एकदमै जाग्नुपर्‍यो’, उनले भनिन,‘ संघीयमात्रै होइन प्रदेश सरकार र ७५३ वटै स्थानीय सरकारहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ।’

सांसद भीम रावलले कोराना भाइरसको प्रकोप नेपालमा फैलन नदिन भारतसँग सीमा जोडिएका क्षेत्रमा विशेष निगरानी र सचेतता बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै सांसद रावलले खासगरी भारतसँग अन्तर्राष्ट्रिय कानुनअनुसार सीमाहरु नियमन नभएकाले त्यसले नेपालमा समस्या पार्ने बताए।

भारतमा कोरोनाको संक्रमण देखिएका केही बिरामी देखिएको भन्दै उनले यसले नेपालमा पनि जोखिम बढाउने उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘हाम्रो र भारतबीचको सम्बन्ध र दैनिक हुने आउजाउलाई ख्याल नगर्दा त्यसले धेरै समस्या पार्न सक्छ,’ रावलले भने।

उनले औषधि, खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन नदिन र त्यसबारे ढुक्क हुने अवस्था बनाउन सरकारलाई सुझाव दिए।

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नेपाल प्रवेश गर्ने यात्रुलाई जुन मुलुकबाट आउँदैछन्, त्यहि मुलकमैं कोरोना भाइरस मुक्त भएको प्रमाणसहित पठाउन लगाउने र नेपालका प्रवेश विन्दूमा थप चेकजाँच गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

संसदमा कांग्रेस सांसद गगन थापाद्वारा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने क्रममा बडुले सो धारणा व्यक्त गरेका हुन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उच्चजोखिम रहेका देशहरुको सूचीमा नेपाललाई पनि राखिसकेकोले र छिमेकी मुलुकमा संक्रमितहरु देखिने क्रम जारी रहेका कारण नेपालले उच्चसतर्कता अपनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

अहिले प्रतिनिधि सभामा स्वास्थ तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जवाफ दिइरहेका छन्। ढकालले गणपुरक संख्या नपुगेर संसद स्थगित भएको सुचना आइरहेको बेला ३९ जनाले एकैदिन कोरोना भाइरस सम्बन्धित छलफल हुनु यो बहुतै महत्वको विषय रहेको पुष्टि भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .