ad ad

राजनीति


सामान आपूर्ति तलमाथि गर्न दिन्नौं भनेर सरकारले जनतालाई आश्वस्त पार्न सक्नुपर्छः गगन थापा

सामान आपूर्ति तलमाथि गर्न दिन्नौं भनेर सरकारले जनतालाई आश्वस्त पार्न सक्नुपर्छः गगन थापा

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ८:१९,

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसद गगन थापाले कोरोना भाइरस संक्रमण तयारीबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका छन्।

‘कोराना संक्रमणबारे जानकारी भए पनि मानिस त्रसित हुन सक्छन्। त्यसका लागि आवश्यक तयारी आवश्यक छ’, प्रतिनिधि सभामा शुक्रबार सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै सांसद थापले भने, ‘सामग्रीको आपूर्ति तलमाथि गर्न दिन्नौ भन्ने सरकारले जनतालाई आश्वस्त पार्न सक्नुपर्छ।’

सांसद थापाले कोरोना संक्रमणबाट बच्नका लागि एकीकृत कार्यसञ्चालन गर्न र तत्काल एक्सन प्लन सार्वजनिक गर्न सरकारसँग आग्रह गरे। छरपस्ट नभई एकीकृत रुपमा एक्सन प्लान कार्यान्वयनमा ल्याइनुपर्ने उनको भनाइ थियो।

‘अहिलेसम्म नेपालको अवस्था सुखद भए पनि इरानकोजस्तो एकै पटक संक्रमणको अवस्था देखिए के गर्ने भन्नेबारे समयमै सोच्नु पर्छ’, सांसद थापले भने, ‘सीमामा चेक जाँच, स्वास्थ्य चेकजाँचको क्षमतासहितका कारणले विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको छ। यस्तो अवस्थामा संघ, प्रदेश र स्थानीय सरकार मिलेर एकीकृत प्रयासमा जुट्नुपर्छ।’

टेकूस्थित अस्पतालबाट मान्छे भागेको खबर सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘आइसोलेसन बेड राम्रो बनाउन जरुरी छ।’

सबै देशहरुले कोराना भाइरसविरुद्ध आवश्यक तयारी गरेको, भिषा रद्द गर्न थालेको बताउँदै उनले भने, ‘नेपाल बाहिरबाट नेपाल आउनेहरुको ट्र्याकिङ गर्न जरुरी छ।’ पूर्व स्वास्थ्यमन्त्री समेत रहेका उनले भने, ‘कोरोना भाइरससँग सचेत रहने हो तर्सने होइन। हामीलाई तयारीका लागि अहिले गोल्डेन समय छ। तयारीका लागि हाम्रो जस्तो समय अरु देशले पाएनन्।’

सरकारले विवाह ब्रतबन्ध, भोजभतेर र सभासम्मेलन रोक्न भने पनि विद्यालय खुला रहेको, संसद बैठक सञ्चालन भइरहेको एवं मन्त्रीहरु विदेश भ्रमणमा रहेको भन्दै उनले भने, ‘एकद्वार प्रणालीबाट सूचना सम्प्रेषण गर्न र विदेशबाट फर्किएकाहरुको राम्रो चेकजाँचको व्यवस्था गर्न आग्रह गर्दछु।’

विदेशी नागरिक नआउने, सभासम्मेलन नगर्ने स्थितिमा होटल, एयरलाइन्स, बैंक लगायत मुलुकका विभिन्न क्षेत्र प्रभावित हुने उल्लेख गर्दै त्यसका लागि आवश्यक तयारी गर्न आग्रह गरे।

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली नियम ७१ बमोजिम सांसद थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका हुन्। सो प्रस्तावमाथि सांसद दिव्यमणिराज भण्डारी, राजेन्द्र केसी, नारायण खड्का, दिलेन्द्र बडुले समर्थन गर्दै छलफलमा भाग लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .