प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य दल र केही नेताहरूमाथि केन्द्रीत रहेर अराजकतावादी शक्तिहरू अघि बढेको भन्दै पार्टी संगठनलाई सशक्त भएर अघि बढाउन नेताहरूलाई निर्देशन दिएका छन्।
बिहीबार बसेको पार्टीको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफूहरूको अगाडि चुनौती थपिँदै गएको बताएका थिए। गत सोमबार (भदौ १०) गते काठमाडौँको टुँडिखेलमा आयोजित गौरा पर्वमा युवाहरूले नेताहरूको विरोधमा ‘मुर्दावाद’ को नारा लगाएका थिए।
उक्त कार्यक्रममा ओली पनि सहभागी थिए। मञ्चमा ओली र देउवा पुग्नेबित्तिकै युुवाहरूले नाराबाजी गरेको घटनामा दुई जना पक्राउ पनि परेका थिए।
सोही विषयतर्फ इंकित गर्दै बिहीबारको बैठकमा ओलीले भनेका छन्, ‘अराजकतावादी शक्तिहरू विभिन्न ढंगबाट अगाडि बढ्दैछन्। मुख्य पार्टी र निश्चित नेताहरूमाथि केन्द्रीत रहेर समाजमा असन्तुष्टि भड्काउने प्रयत्नहरू भइरहेका छन्।’
साथै, उनले पार्टीका अगाडि चुनौती थपिएको भन्दै संगठनलाई व्यवस्थित, एकताबद्ध र सशक्त बनाएर अघि बढ्नुपर्ने बताएका थिए।
‘अहिले हाम्रा अगाडि चुनौती छन्। चुनौतीको सामना गर्नेगरी पार्टी संगठनलाई अझै बढी व्यवस्थित, एकताबद्ध र सशक्त बनाएर लानुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले बताए।
Shares

प्रतिक्रिया