संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देश ठूलो जर्जरतामा रहेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित खौं पर्वको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
राजश्वले अब चालु खर्च नधान्ने स्थिति रहेको र पुँजीगत खर्च भन्दा वित्तीय व्यवस्थापन खर्च बढेर गएको उनले उल्लेख गरे।
‘हाम्रो राजश्वले अब चालु खर्च नधान्ने भयो, हाम्रो पुँजीगत खर्च भन्दा हाम्रो वित्तीय व्यवस्थापन खर्च बढेर गयो, जसले गर्दा देशको अर्थतन्त्र भित्रबाट जर्जर छ,’ उनले भने, ‘बाहिर संसदमा उभिएर बोल्न त सजिलो थियो, जब मन्त्री भएपछि भित्र गएर हेरिन्छ, देश निकै ठूलो जर्जरतामा छ। यो बेलामा गर्नुपर्ने के हो भने कांग्रेस र एमाले एक ठाउँमा उभिए। यो नै एउटा असाधारण परिस्थिति हो।’
कांग्रेस र एमाले एक ठाउँमा उभिनु नै असाधारण परिस्थिति भएको बताउँदै पर्यटनमन्त्री पाण्डेले असाधारण परिस्थितिमा कांग्रेस र एमालेले मात्रै नभइ सबै राजनीतिक दलहरु मिलेर राष्ट्रिय संकटको सामना गर्नुपर्ने बताए।
‘दुई वटा प्रतिष्पर्धी पार्टी एकै ठाउँमा उभिनु भनेकै असाधारण परिस्थिति हो। यो असाधारण परिस्थितिमा कांग्रेस एमालेले मात्रै गर्छन् भन्ने छैन। त्यसमा माओवादी, समाजवादी, राप्रपा, रास्वपा, जसपा, लोसपा सबै मिलेर देशको संकटलाई राष्ट्रिय संकटलाई एक ठाउँमा उभिएर सामना गर्नुपर्छ,’ उनले भने।
सबै युवाहरूले कर्तव्यवोध गर्नुपर्ने बताउँदै मन्त्री पाण्डेले देशी तथा विदेशी पर्यटक भित्र्याउन नेपालले नेपाल सुरक्षित छ भन्ने आभाष दिलाउन सक्नुपर्ने जिकिर गरे।
‘देशी विदेशीलाई भित्र्याउन नेपालमा जाँदा हामी सुरक्षित छौँ भन्नेकुराको आभाष दिलाउन पनि र नागरिक उड्डयन पनि विश्वसनीय सेवा हुनुपर्दो रहेछ। हिजो मानिसहरू बढिमालिका जानुभयो। जाँदै गर्दा धेरै जनाले फोन गरेर लेक लाग्नसक्छ, केही दुर्घटना हुनसक्छ, हेलिकप्टर तयारीका साथ राखिदिनुपर्छ भन्नुभयो। त्यो कति सम्भव छ, यो हाम्रो नागरिक उड्डयन क्षेत्रको चुनौति हो,,’ पाण्डेले भने, ‘तर कुरा के हो भने हाम्रो विविधतापूर्ण संस्कृति, विविधतापूर्ण प्रकृति, यो प्रकृतिलाई देशी, विदेशीलाई देखाउने हो भने यो नागरिक उड्डयनको क्षेत्र सुरक्षित हुनुपर्दो रहेछ। नेपालका विभिन्न स्थानमा गएर अवलोकन गर्ने पर्यटकले नेपाल घुम्नका लागि सुरक्षित छ, उद्धार समयमै हुन्छ भन्ने विश्वास गर्न सक्नुपर्छ।’
Shares

प्रतिक्रिया