अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
मन्त्री खतिवडाले मंगबार दिउँसो पदबाट राजीनामा दिएका थिए।
खतिवडाको राजीनामा स्वीकृत भएसँगै राष्ट्रिपति विद्यादेवी भण्डारीले उनले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्ने गरी तोकेकी छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकिएको जनाएका छन्।

राजीनामा दिनुअघि मन्त्री खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए।
राष्ट्रियसभामा डा. खतिवाडासहित १९ जना सांसदको पदावधि मंगलबार राति १२ बजेबाट सकिँदैछ। गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका १९ जनामध्ये राष्ट्रपतिबाट मनोनित खतिवडा पनि एक हुन्।
कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री खतिवडाले राजीनामा दिएका हुन्। तर, सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्ने भएका छन्।
‘गैरसांसदलाई पनि ६ महिना मन्त्री बनाउन पाउने संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले उहाँलाई मन्त्री नियुक्त गर्न लाग्नुभएको हो’, स्रोतले नेपालखबरसँग भन्यो।

प्रतिक्रिया