उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीहरू मन्त्रीसँग नभइ कानुनसँग डराउनुपर्ने बताएका छन्। ललितपुरमा बुधवार आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम-२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्छ,’ पौडेलको भनाइ छ, ‘जो सुकै किन नहोस्, हरेक सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र उसले सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकुल परिस्थिति निर्माण गर्ने काममा ध्यान जानुपर्छ। यहाँहरुले विषयको आधारमा नो भन्न सक्नुपर्छ। विषयको आधारमा एस भन्न सक्नुपर्छ। नो भन्न सक्नुहुन्न भने तपाईं आफ्नो हाकिमको आदेश, त्यो भन्दा माथिको आदेश, यदाकदा मन्त्रीको आदेश आउला। त्यो आदेश कानूनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएको छ भने त्यस्तो अवस्थामा नो भन्न सक्नुपर्छ।’
मन्त्री पौडेलले थपे, ‘यो मिल्दैन, म गर्न सक्दिन भन्न सक्नुपर्छ। हाकिम, मन्त्रीसँग डराउनु हुन्छ भने असल राष्ट्रसेवक बन्न गाह्रो हुन्छ। तपाईं डराउने दुई, तीन वटामा हो । तपाईंले सम्पादन गर्ने काम कानुनसँग बाझिएको छ की छैन, त्यसमा डराउनुपर्छ। आम नागरिक र राष्ट्रहितसँग बाझिने छ भने डराउनु पर्छ। हाकिम र मन्त्रीसँग विषयको आधारमा सही र गलत भन्नसक्ने त्यो सामथ्र्य हुनुपर्छ।’
उपप्रधानमन्त्री पौडेलले सरुवा/बढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरे। उनले सरुवा/बढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरु राख्न आग्रह गरे।
Shares

प्रतिक्रिया