राजनीति


खुमलटारको नयाँ प्रस्ताव : वामदेवको मनोनयन, खतिवडाको निरन्तरता

खुमलटारको नयाँ प्रस्ताव : वामदेवको मनोनयन, खतिवडाको निरन्तरता

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ९:१०,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तीन शीर्ष नेताहरुले राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई नै मनोनयन गर्ने र अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई निरन्तरता दिने प्रस्ताव बालुवाटार पठाएका छन्।

शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको तीन शीर्ष नेताको बैठकले पार्टीमा देखिएको विवाद समधान गर्नका लागि नयाँ प्रस्ताव गरेको हो।

बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रपतिबाट मनोनित गराएर राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा गौतमलाई लैजान नसक्ने भन्दै अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने अडान राखेपछि खुमलटारमा बसेको अध्यक्ष प्रचण्ड, वरिष्ट नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालको बैठकले मध्यमार्गी प्रस्ताव गरेको हो।

खुमलटारले गौतमलाई राष्ट्रियसभामा लैजाने र डा. खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने प्रस्ताव गरेको हो। ‘गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टी निर्णयलाई कार्यान्वयन गर्दै खतिवडालाई पनि निरन्तरता दिने गरी नयाँ प्रस्ताव गरिएको छ’, नेकपाका एक नेताले नेपालखबरसँग भने। सो प्रस्तावलाई लिएर नेता नेपालले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको ती नेताले नेपालखबरलाई बताए।

बैठकलगत्तै गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले पनि यसको संकेत गरेका थिए। उनले राष्ट्रियसधभामा वामदेव गौतम नै जाने दावी गर्दै खतिवडालाई प्रधानमन्त्रीले चाहेमा ६ महिना निरन्तरता दिन सक्ने बताएका थिए।

‘अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानै पर्छ भन्ने छैन’, अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो संवैधानिक व्यवस्थाअनुसार ६ महिनाका लागि राष्ट्रियसभामा नगए पनि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ।’

वरिष्ठ नेता झलनाथ खनालले भने पार्टी सचिवालयले गरेको निर्णय पहिले कार्यान्वयन हुने बताए। उनले भने, ‘गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय सचिवालयले सर्वसम्मत रुपमा गरेको हो, यो पहिला कार्यान्वयन हुन्छ’, नेपालखबरसँग कुरा गर्दै खनालले भने, ‘अर्थमन्त्री खतिवडाका विषयमा केही सोच्नुपर्ने भयो भने पछि सोच्न सकिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad