सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाको रुट सार्न माग गर्दै स्थानीयबासिन्दाले निर्माणमा अवरोध गरेका छन्।
दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं ८को बोझ र ९को झिंगानेमा भइरहेको अवरोधका कारण आयोजनाले ५ वटा टावरको निर्माण गर्न सकिरहेको छैन।
तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्ज सेन्टर प्रालिले आफ्नो जग्गाबाट प्रसारण लाइन लैजाँदा व्यवसाय प्रभावित हुने भन्दै बोझमा एउटा टावर खडा गर्न दिएको छैन ।
प्रसारण लाइनको रुट सार्नु पर्ने र त्यसो गर्न नसकिएमा मुआब्जा तथा क्षतिपूर्ति रकम बढाउन माग गर्दै स्थानीयले झिंगानेमा ४ वटा टावर निर्माण गर्न दिएका छैनन् । स्थानीय सन्तोष तामाङले आफ्नो जग्गामा टावर निर्माण गर्न नदिएपछि निर्माण प्रभावित भएको हो । अन्य प्रभावितले पहिले तामाङको जग्गामा निर्माण गरेपछि मात्रै आफ्नो जग्गामा निर्माण गर्न दिने अडान राखेका छन् ।
४० किलोमिटर प्रसारण लाइनमा पर्ने १२४ टावरमध्ये ११७ वटाको जग हालिएको छ । १०७ वटा टावर खडा गरिएको छ । ३२ किलोमिटर सिंगल सर्किट तार टांगिएको छ । प्रसारण लाइनको निर्माण आगामी वैशाखभित्रमा सक्ने लक्ष्य राखिएको छ ।
दोलखाका सिंगटी खोला र तामाकोसी नदी बेसिनमा निजी क्षेत्रका निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजको विद्युत् प्रणालीमा प्रवाह गर्न सिंगटी–लामोसाँघु प्रसारण लाइनको निर्माण भइरहेको हो । नेपाल विद्युत प्राधिकरणले जारी अवरोध हटाउन गरेको प्रयास सफल हुन सकिरहेको छैन ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण प्रगतिको जानकारी लिन केही दिनअघि दोलखा पुग्नु भएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध हटाउन छलफल गर्नुभएको छ । कार्यकारी निर्देशक घिसिङले दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालाई भेटी आयोजना निर्माणमा भइरहेको अवरोध हटाउन आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गरे।
‘यही लाइनमा लोडिने २५ मेगावाटको सिंगटी खोला र अन्य केही आयोजनाहरुको निर्माण अन्तिम चरणमा पुगेको छ, तत्काल लाइन बनाउन सकेनौं भने पेनाल्टी वापत ठूलो रकम तिर्नु पर्ने छ, यस्तो महत्वपूर्ण र संवेदनशील आयोजनाको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न सहजीकरण गरिदिनुपर्यो’, उनले भने।
विकास निर्माणमा स्थानी रुपमा भइरहेका अवरोध हटाउनका लागि गृह मन्त्रालयले स्पष्टसँग निर्देशन दिएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले प्रसारण लाइनमा भइरहेको अवरोध हटाउन आफूले सक्रियताका साथ पहल गर्ने बताए।
‘अवरोध गर्नेसँग आवश्यक छलफल गछौं, त्यसबाट सहमतिमा पुग्न सकिएन भने यस्तो राष्ट्रिय महत्वको प्रसारण लाइनको निर्माण सम्पन्न गर्न प्रशासन कानुनमा भएको व्यवस्थाअनुसार अगाडि बढ्छ’,उनले भने।
यो प्रसारण लाइनमा निर्माणको अन्तिम चरणमा पुगेको २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाको विद्युत् जोडिनेछ। कार्यकारी निर्देशक घिसिङले प्रवर्द्धक कम्पनीले आयोजनाको निर्माण चैतभित्र सम्पन्न हुने बताए पनि साइटको कार्यप्रगति हेर्दा त्यस्तो नदेखिएको बताए। उनले प्रसारणलाइन अभावमा आयोजनाबाट उत्पादित विद्युत् खेर जान नदिने प्रतिबद्धता जनाए।
आयोजनाको प्रवर्द्धक सिंगटी हाइड्रो इनर्जी लिमिटेडका अध्यक्ष बटु लामिछानेले चीनमा फैलिएको कोरोना भाइरसले मेसिन जडानका लागि चिनियाँ प्राविधिक आउन नसक्दा काम प्रभावित भएकाले निर्माण सम्पन्न हुने समय केही ढिला हुने देखिएको बताए।
प्रसारण लाइनको निर्माण आर्थिक वर्ष २०६५/६६मा सुरु गरिएको थियो। निर्माणको जिम्मा पाएको भारतीय कम्पनी अरावली इन्फ्रा पावरले आर्थिक संकट देखाउँदै काममा ढिलाइ गरेको थियो। त्यसपछि कम्पनीको आधिकारिक नेपाल प्रतिनिधिलाई निर्माण जिम्मा दिइएको थियो।
अहिले भइरहेको अवरोध हटेर ठेकेदारले कामको गति बढाएमा वैशाखभित्रमा लाइन र सबस्टेसनको निर्माण सकिने आयोजना प्रमुख राजन ढुंगेलले बताए।
Shares

प्रतिक्रिया