प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको यही असार २० र २१ गते संसदीय सुनुवाइ हुने भएको छ।
मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानमाथिको उजुरी र उनको कार्ययोजनासहितको सुनुवाइ गर्ने मिति तय गरेको हो।
संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित आयुक्त प्रधानमाथिको सुनुवाई गर्ने सम्बन्धमा छलफल गरी समितिले सचिवालयको तर्फबाट प्रस्तावित असार २० र २१ गतेको मिति परिमार्जनसहित पारित गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए।
उनले भने, ‘निर्वाचन आयुक्तका लागि प्रस्तावित व्यक्ति प्रधानमाथिको सुनुवाइ गर्ने सचिवालयको प्रस्तावलाई परिमार्जनसहित पारित गरिएको घोषणा गर्दछु।’
गत असार २ गते बसेको संवैधानिक परिषद् बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा नेपाल कानून समाजका कार्यकारी निर्देशक प्रधानलाई सो पदका लागि सिफारिस गरेको थियो भने समितिको असार ७ गते बसेको बैठकले उनीमाथि उजुरी आह्वान गर्दै १० दिने सूचना जारी गरेको थियो।
निर्वाचन पर्यवेक्षकको रुपमा समेत काम गरिसकेका प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
Shares
प्रतिक्रिया