ad ad

राजनीति


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ठेक्का लाग्यो, २६ महिनामा सम्पन्न गरिने

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ठेक्का लाग्यो, २६ महिनामा सम्पन्न गरिने

नेपालखबर
असार १४, २०८१ शुक्रबार १४:४०, काठमाडौँ

बहुप्रतीक्षित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा हिमालयन–कालिञ्चोक–बीबीआर जेभीले पाएको छ।

प्रतिस्पर्धाबाट यो कम्पनीलाई निर्माण कार्यका लागि छनोट गरिएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी गराएकी छन्। 

उनका अनुसार, अबको एक हप्ताभित्र उक्त कम्पनीसँग महानगरले निर्माण सम्झौता गर्नेछ। ‘सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य महानगरले लिएको छ,’ प्रमुख दाहालले भनिन्। 

६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ लागतमा सो कम्पनीलाई रंगशाला निर्माणको जिम्मेवारी दिइएको हो।

यसअघि गत २०८० फागुन १७ गते आह्वान गरिएको बोलपत्र २०८१ को वैशाख ३१ गतेको निर्णयअनुसार रद्द भएको थियो।

लगत्तै भरतपुर–१५ मा अलपत्र अवस्थामा रहेको रंगशालालाई पहिलो चरणमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान र १५ हजार दर्शक क्षमताको प्यारापिट बनाउने गरी बोलपत्र  आह्वान गरिएको थियो।

गत कात्तिकमा बागमती प्रदेश सरकारको ७० र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण सम्झौता गरेका थिए। 

संघीय सरकारले पनि यसलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको थियो।

विसं २०७५ सालमा २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बनाउन थालेको धुर्मुस सुन्तली फाउन्डेसनले १६ करोड बढी ऋण देखाउँदै बीचमा नै रंगशाला निर्माणबाट हात झिकेको थियो।

सहयोग दाताहरूबाट दिने भनेको रकम नउठेको भन्दै फाउन्डेसनले २०७८ साउनदेखि निर्माणको काम रोक्यो।

मैदानमा ५७ करोड ९२ लाख ५ हजार ७३ खर्च भएको फाउन्डेसनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .