राजनीति


शान्ति मिसनमा सेनाको १० प्रतिशत जनशक्ति पठाइने

शान्ति मिसनमा सेनाको १० प्रतिशत जनशक्ति पठाइने

नेपालखबर
फागुन १४, २०७६ बुधबार १४:३५,

रक्षा मन्त्रालयले नेपाली सेनासँग रहेको १० प्रतिशत जनशक्तिलाई संयुक्त राष्ट्र संघ शान्ति मिशनमा खटाउने तयारी गरिरहेको जनाएको छ।

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले बुधबार मन्त्रालयमा आफ्नाे कार्यकालको दुई वर्षको प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामा १० प्रतिशत सेना खटाउन संयुक्त राष्ट्रसंघसँग कुरा गरिरहेको बताएका हुन्।

उनले विदेशी मिसनमा जाँदा नेपाली सेनाले पनि नेतृत्व तहमा जिम्मेवारी पाउने विषयमा समेत राष्ट्रसंघसँग छलफल भइरहेको जानकारी दिए। संयुक्त राष्ट्रसंघ शान्ति सेनामा नेपालबाट ५ हजार १ सय जना सैनिक अधिकृत र जवानहरुको सहभागिता रहेको छ।

उनले नेपाली सेनालाई शान्ति मिसनमा पठाउँदा नेता तथा मन्त्रीका आफन्तले प्राथमिकता पाउने गरेको उल्लेख गर्दै त्यसको अन्त्य गर्नका लागि ‘शान्ति सेना छनौट कार्यविधि’ तयार गरिएको बताए।

उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले ऐतिहासिक किल्ला, स्तम्भहरुको रक्षा गर्ने कामको सुरुवात समेत गरेको बताए। उनले पछिल्लो समय सिमा क्षेत्रमा ऐतिहासिक किल्ला तथा स्तम्भहरु संकटमा परेको भन्दै सेनाले रक्षा गर्ने कामको सुरुवात गर्न लागेको बताए।

त्यस्तै दुई वर्षको अवधिमा रक्षा मन्त्रालयले नीतिगत तथा कानूनि सुधारतर्फ उल्लेख्य कामहरु गरेको उनले बताए। उनले राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरी राष्ट्रिय सुरक्षा नीति २०७५ पारित भएको, राष्ट्रिय सुरक्षा विधेयकलाई अगाडी बढाइएको, सैनिक ऐन २०६३ मा रहेका नमिल्दा कुराहरुलाई संशोधन गरीएको लागयतका नीतिगत सुधारका कामहरु गरेको बताए।

यसबाहेक सुरक्षा सम्बन्धी उच्च अध्ययन अनुसन्धान प्रतिष्ठानको रुपमा ‘नेशनल डिफेन्स युनिर्भसिटी’ स्थापना गर्ने प्रकृयालाई रक्षा मन्त्रालयले अगाडी बढाएको छ। त्यसका लागि संस्थागत संरचना निर्माणको कम सुरु भइसकेको र पूर्वाधार विकासको काम अगाडि बढाउन लागिएको जानकारी उनले बताए।

त्यस्तै राष्ट्रिय गौरव तथा राष्ट्रिय महत्वका विभिन्न सडक आयोजनाहरु निर्माणका कामहरु गरेको तथा विकास निर्माणका लागि विस्फेटक पदार्थ उत्पादन गर्ने कामलाई पुनः सुरु गरिएको उनले बताए। उक्त काम मकवानपुरको सुनचुरीमा भइरहेको छ। त्यस्तै नेपाली सेनाले २०७५ साल चैत २७ गते रातको समयमा आएको आँधी, हुरीका कारण बारा र पर्सामा भएको क्षतिमा विपदमा परेका जनताहरुलाई पुनस्थापना गर्नका लागि नेपाली सेनाले घर निर्माण गरी हस्तान्तरण गरेको बताए। त्यस्तै सुर्खेतमा नेपाली सेनाको पश्चिम एयर बेस स्थापना भएको छ।

यसबाहेक सेनाले खेलकुदतर्फ पनि उल्लेखनीय प्रगति गरेको छ। नेपाली सेनाले भर्खरै सम्पन्न भएको साफ गेममा २६ खेल मध्ये २१ खेलमा सहभागिता जनाई २३ वटा स्वर्णपदक जित्न सफल भएको छ। त्यस्तै नेपाली सेना ‘इन्टरनेशनल मेलिटेरी स्पोर्टस् काउन्सिल’ को सदस्य बन्न सफल भएको उपप्रधानमन्त्री पोखरेलले जानकारी दिए। उक्त काउन्सिलमा अहिलेसम्म १ सय ४० राष्ट्रका सैनिक संगठन सदस्य रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad