अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपालसमेत १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ।
प्रहरी चौकी टिमुरेको कार्यालय परिसरभित्र केरुङबाट नेपाल आउँदै गरेको ना६ख ४९३२ नं को कन्टेनर चेकजाँच गर्ने क्रममा गत पुस ११ गते चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छोडेको अख्तियारले जनाएको छ।
सो घटनाबारे आयोगबाट अनुसन्धान भइरहेको अवस्थामा उक्त कार्यमा संलग्न व्यक्तिहरु पदमा बहाल रही रहँदा आफ्नो बिरुद्दको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धान तहकिकातमा बाधा पुर्याउन सक्ने देखिने भन्दै आयोगले पदबाट निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो।
निलम्बनका लागि सिफारिस गरिएका प्रहरी अधिकारीहरुमा प्रहरी निरीक्षक खेम प्रसाद नेपाल, नायव निरीक्षक भोज बहादुर सेन वली, सहायक निरीक्षक रामशरण कुमाल, हवल्दारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा, गोपी बहादुर लो तामाङ, जवान शिव नारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, तारा बहादुर प्रजा र कार्यालय सहयोगी हरी बहादुर श्रेष्ठ छन्।

प्रतिक्रिया