ad ad

राजनीति


हिरोको सोरुम चलाउँथे सतीश, अब चलाउँछन् मधेस सरकार

हिरोको सोरुम चलाउँथे सतीश, अब चलाउँछन् मधेस सरकार

सागर न्यौपाने
जेठ २४, २०८१ बिहिबार १७:२९, काठमाडौँ

२०७२ सालसम्म उनी सप्तरीमा हिरो मोटरसाइकल र महिन्द्रा गाडीको आधिकारिक बिक्रेताका बनेर सोरुम सञ्चालन गरिहेका थिए। कमाइ राम्रै थियो। तर, उनलाई राजनीतिले तान्यो।

अनि जिल्लामा सम्पर्कमा रहेका केही नेतामार्फत् शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीमा आवद्ध भए २०७३ मा। 

सोही वर्ष उनलाई जिल्ला पार्टी अध्यक्षको जिम्मेवारी दिइयो।

व्यापारमा लागेको, युवा भएकोले संगठन बलियो बनाउन सक्ने विश्लेषण गर्दै भण्डारीले सतीशकुमार सिंहलाई पार्टीमा भित्र्याएका थिए। 

गत आठ वर्षमा उनले तीनवटा पार्टी फेरे। स्थानीय र प्रदेशगरी दुई पटक चुनाव जिते। र, अब उनी मधेश प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्।

संविधान जारी भएपछि मधेसमा क्रियाशील दलहरू आन्दोलनमा उत्रिए। उनीहरूले संविधान जलाए। धर्ना दिए। मधेशको त्यो जागरण नियालिरहेका सिंहलाई लाग्यो, अब राजनीति गर्नुपर्छ।

त्यसअघि पनि सद्भावना पार्टी निकट विद्यार्थी संगठनमा केही समय काम गरेकाले आफ्ना सम्पर्कमा रहेका नेताहरूसँग हिमचिम बढाए।

आन्दोलनबारे चासो राखे। नेताहरूसँगको उठबसले उनलाई तान्यो। 

अनि दाइ सुरज र भाइ सत्यवानलाई व्यापार व्यवसाय जिम्मा लगाएर उनी औपचारिक रुपमा राष्ट्रिय मधेस समाजवादी पार्टीको सदस्यता लिएर राजनीतिमा होमिए।

‘मेरो व्यापार राम्रै चलेको थियो, त्यसमा पनि पहिलेदेखि हाम्रो परिवारको आर्थिक अवस्था राम्रै थियो,’ उनी भन्छन्, ‘विद्यार्थी कालमा केही समय राजनीति गरेको, राजनीति पृष्ठभूमिको परिवारमा हुर्केको भएर यसले तान्यो।’

उनका बुवा शेखरकुमार सिंह पञ्चायतकालदेखि राजनीतिमा सक्रिय थिए। दोस्रो संविधानसभामा सप्तरीबाट शेखरले चुनाव हारे अनि छोरा सतीशलाई राजनीतिको नसा लाग्यो। 

विसं २०३९ मसिर १५ गते जन्मिएका उनी ४२ वर्षका भए। भारतबाट बीसीए सकाएका उनी त्यसपछि नेपाल फर्किएर व्यवसायमा लागेका थिए।

बुबाको सपना पूरा गर्न आठ वर्षअघि उनी औपचारिक रुपमा राजनीतिमा होमिए। राजनीति थालेको एक दशक नपुग्दै उनी पार्टीको जिल्ला अध्यक्ष, गाउँपालिका अध्यक्ष हुँदै प्रदेश सभा सदस्य निर्वाचित भए।

प्रदेश सभा चुनिएको १७ महिनामा उनी मुख्यमन्त्री बन्ने भएका छन्।

आठ वर्षे राजनीतिक करिअरमा उनले तीनवटा दल बदले–  राजपा, लोसपा र जनमत। अहिले जनमत पार्टीले उनलाई मुख्यमन्त्रीमा अघि सारेको हो। 

मधेश प्रदेश सभामा अर्थ समिति सभापति रहेका उनलाई बिहीबार बसेको जनमत पार्टीको बैठकले मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी सहित अन्य दुई दलको ५६ सांसदको समर्थन लिएर सिंहले मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन्।

मधेस प्रदेशमा जनमतको १३ सांसद छन्। दलका नेता महेशकुमार यादव छन्। त्यही आधारमा उनी मुख्यमन्त्रीका रुपमा हेरिएका थिए। तर, जनमत पार्टीले सिंहलाई अगाडि सार्ने निर्णय गरेर पठाएको सांसद अनिताकुमारी शाहले बताइन्।

‘सतीश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय भएर हामीलाई सन्देश आइसकेको छ,’ शाहले नेपालखबरसँग भनिन्।

जनता समाजवादी पार्टी (जसपा)का मुख्यमन्त्री रहेका सरोजकुमार यादव बुधबार बसेको प्रदेश सभा बैठकमा विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका छन्।

यादवको सरकार ढलेलगत्तै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) अनुसार मधेसमा नयाँ सरकार गठनका लागि आह्वान गर्दै शुक्रबार बिहान १० बजेसम्म समय दिएकी छन्।

दलैपिच्छे अवसर
२०७४ वैशाख ७ गते तराई/मधेसमा राजनीति गर्ने ६ दलहरूले पार्टी एकता गरे। 

महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी एकता भएर राष्ट्रिय जनता पार्टी (राजपा) बनेको थियो। 

सतीशले राजपाबाट २०७४ को स्थानीय तहको चुनावमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष उम्मेदवार टिकट पाए र निर्वाचित भए। २०७६ सालतिर राजपाका नेताहरू छिन्नभिन्न भए। सिंहले ०७८ सालमा दल परिवर्तन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजे।

उनी लोसपाबाट २०७९ वैशाखमा दोस्रोपटक भएको स्थानीय चुनावमा सोही पालिकाको अध्यक्ष उम्मेदवार बने। तर, यसपटक उनी कांग्रेसका अरुणकुमार मण्डलसँग पराजित भए। 

त्यसपछि सप्तरीमा चन्द्रकान्त राउत (सीके) को बढ्दो प्रभाव देखेर सिंह उनीसँग निकट भए। २०७९ भदौ ९ गते राउतकै हातबाट टीका थापेर जनमत प्रवेश गरे। मंसिर ४ मा भएको चुनावमा जनमत पार्टीले उनलाई सप्तरी २ (१) बाट उम्मेदवार बनायो। सिंहले चुनाव जिते। 

‘उहाँको राजनीतिक पृष्ठभूमि राजपा हो, त्यसपछि लोसपा जानुभयो,’ जनमतकी सांसद शाहले थपिन्, ‘पछि जनमत प्रवेश गरेर चुनाव जित्नुभयो।’

चर्चामै नरहेका सतीशलाई कसले मुख्यमन्त्रीका रुपमा अघि सार्‍यो त? यसबारेमा केन्द्रीय निर्णय भएको उनको दाबी छ।

‘माथिबाटै निर्णय भएर हामीलाई सन्देश पठाइएको छ, त्यसलाई आजै (जेठ २४) मा बसेको जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको बैठकले अनुमोदन गरेको हुनसक्छ,’ शाहले भनिन्।

रोचक त के भने मधेस प्रदेशमा जनमत पार्टीको दलका नेता रहेका महेश यादव र सतीश दुवैले सीके राउतकै निर्वाचन क्षेत्रबाट प्रदेश सभा चुनाव जितेका हुन्। सिंह २ (१) र यादव २ (२) का सांसद हुन्। 

यादव माओवादी पृष्ठभूमिका हुन्। जनयुद्धमा हिँडेका उनी यसपटक टिकट नपाएपछि जनमत प्रवेश गरेका थिए। त्यस क्षेत्रबाट माओवादीले टिकट दिएका उमेशकुमार यादवलाई झण्डै दोब्बर मतले हराएर उनी प्रदेश सांसद निर्वाचित भएका हुन्।

महेशले मुख्यमन्त्री आफैँ बन्ने दाबी गरे पनि अध्यक्ष राउतले सिंहलाई अघि सारेको हो। 

सतीशका बुवा शेखरकुमार सिंह भने राष्ट्रिय सभा सदस्य छन्। त्यो पनि अलग पार्टीबाट। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को एक मात्र सांसद उनै शेखर हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .