सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल छलफलमा जुटेका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा प्रचण्ड, नेपाल र पौडेल छलफलमा रहेकै बेला उपाध्यक्ष वामदेव गौतमलाई पनि निमन्त्रणा गरिएको थियो। यद्यपि उनी छलफलमा पुगेनन्।
एक घण्टा लामो छलफलपछि नेताहरु पार्टी कार्यालयबाट बाहिरिएका छन्।
धुम्बाराही स्रोतका अनुसार संविधान संशोधन गरेर गौतमलाई राष्ट्रियसभाको सदस्य बनाई प्रधानमन्त्री बनाउने योजना अघि बढ्न नसकेपछि कसरी जाने भन्ने विषयमा छलफल भएको हो।
अध्यक्ष प्रचण्ड च्याम्बरमा सो छलफल भएको थियो। कार्यकर्तालाई जान अनुमति नदिइएको बैठकमा पार्टीको विधान संशोधनका विषयमा छलफल गरिएको एक नेताले बताए।
नेकपाको शनिबार बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बन्न मिल्नेगरी विधान संशोधन गर्न नेपालको संयोजकत्वमा सुवास नेम्वाङ र कानुनविद् खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाउने विषयमा छलफल भएको थियो।
धुम्बाराही बैठकमा देवकोटा पनि उपस्थित थिए।

प्रतिक्रिया