उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्चमा दर्ता रिट निवेदन आज (बुधबार) पनि सुनुवाइ नहुने भएको छ।
महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाइएको रिट सुनुवाइ गर्न भनेर आज पनि न्यायाधीश सुनीलकुमार पोखरेलकै इजलासमा पेसी तोकिएको थियो।
तर न्यायाधीश हुनुअघि पोखरेल लामिछानेकै कानुनी सल्लाहकार भएका कारण स्वार्थ बाझिने भएकाले उनीविरुद्धको रिट सुनुवाइ गर्न नमिल्ने भएको हो।
हिजो बुधबार पनि सो रिट न्यायाधीश पोखरेलकै इजलासमा परेको थियो। हिजो भने रिट निवेदक अनुपम भट्टराई आफैँले सुनुवाइ स्थगन गर्न निवेदन दिँदा रोकिएको थियो।
महान्यायाधिवक्ता दिनमणि पोखरेलले गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा ‘क्लिन चिट’ दिएपछि अधिवक्ता अनुपम भट्टराईले रिट दर्ता गराएका हुन्।
अनुसन्धान गर्ने निकाय गृह मन्त्रालयकै नेतृत्वमा लामिछाने भएकाले उनलाई पदबाट निलम्बन गरी सहकारी ठगीको छानबिन हुनुपर्ने माग रिटमा गरिएको छ।
यसैबीच सहकारी प्रकरण छानबिनका लागि मंगलबार मात्र संसदीय छानबिन समिति गठन गरिएको छ।
Shares
प्रतिक्रिया