विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयले विज्ञान प्रविधिको क्षेत्रमा हालसम्मकै ठुलो रकम छुट्याएको बताएका छन्।
सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रायलगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
उनले विज्ञान तथा प्रविधिका क्षेत्रमा यसअघि कहिल्यै यति ठूलो बजेट विनियोजन नभएको बताए। यसअघि १ अर्ब रुपैयाँसम्म छुट्याएको र सो रकम समेत आवश्यक कानुनी व्यवस्था नहुँदा खर्च हुन नसकेकोले बताए।
सोही कारण हाल धेरै मान्छेलाई यो रकम कहाँ खर्च होला ? भन्ने उत्सुकता बढेको उनको भनाई छ। तर ४ अर्ब रुपैयाँ विज्ञान तथा प्रविधि क्षेत्रमा एकदमै कम रकम भएको बताए। यद्यपी अहिलेलाई भने यो रकम पर्याप्त रहेको उनको भनाई छ।
उनले खर्च गर्ने कार्यक्रम निर्धारण गर्न बाँकी रहेकोले विनियोजित ४ अर्ब रुपैयाँमध्ये ३ अर्ब ४० करोड रुपैयाँ अबण्डामा राखिएको जानकारी दिए। मन्त्री पुनकाअनुसार मन्त्रालयका अघिल्ला कार्यक्रम सञ्चालनका लागि ६० करोड रुपैयाँ छुट्याइएको छ भने बाँकी ३ अर्ब ४० करोड रुपैयाँको खर्च योजना ऐन तथा नियमावली बनेपछि मात्रै तय गरिनेछ।
उनका अनुसार मन्त्रालयले अहिले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी ऐन र नियमावली तयार गर्ने काम अघि बढाएको छ। ती कानूनी आधार तयार भएपछि मात्रै अबण्डामा रहेको बजेट कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए।
उनले भने, ‘सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई ४ अर्ब रुपैयाँ छुट्याएको छ, यो भनेको पुँजीगत खर्चको एक प्रतिशत हो। यसमा पहिलेदेखि नै सञ्चालन भईरहेका केही कार्यक्रममा ६० करोड रुपैयाँ छुट्याइएको छ, बाँकी ३ अर्ब ४० करोड रुपैयाँ अबण्डामा राखिएको छ, यो बजेट जेठ १५ गते आँउदाखेरी के गर्ने, कसो गर्ने भन्ने थाहा नै थिएन, त्यही भएर अवण्डामा राखिएको हो।’
उनले थपे, ‘अब यो साढे ३ अर्ब रुपैयाँ कसरी खर्च हुन्छ भन्नेकुरा धेरैलाई अचम्म लागेको छ, किनभने अहिलेसम्म यति रकम छुट्याएको नै थिएन, अहिलेसम्मको ईतिहासमा २०८० मा विज्ञान, प्रविधिको लागि १ अर्ब रुपैयाँ छुट्याएको थियो, त्यो पनि खर्च गर्ने ऐन नभएर खर्च हुन सकेन, अर्थमन्त्रालयले त्यो रकम विश्वविद्यालयहरुलाई बाँड्यो। अहिले ४ अर्ब रुपैयाँ बजेट छुट्याउँदा धेरैलाई अचम्म लागेको छ। यो बजेट कसरी, कहाँबाट खर्च होला भन्ने छ तर यो ४ अर्ब टिको लगाउने भन्छ, दसैँमा टिको लगाउने हो, यसले केही हुँदैन।’
उनले युवाहरुलाई विज्ञान तथा नवप्रर्वतनको क्षेत्रमा लाग्न मन्त्रालयले प्रोत्साहन गर्ने बताए। स्थानीय सरकार र प्रदेश सरकारले पनि विज्ञान प्रविधिको क्षेत्रमा बजेट छुट्याउनुपर्नेमा जोड दिए। पूर्वाधारमा विकासले मात्रै देश विकास नहुने बताए।
देशविकासको लागी अर्थतन्त्र मजबुद बनाउनुपर्ने र अर्थतन्त्रको आकार बढाउन खोज अनुसन्धान तथा नवप्रवर्तकको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको उनको भनाई छ। विज्ञानमा गरिएको खर्चलाई लगानीको रुपमा बुझ्नुपर्नेमा उनले जोड दिए।
विज्ञानमा लगानी नगरेका कारण नै नेपाल पछाडी परेको उनको दाबी छ। विकसित सबै देशहरुले विज्ञान तथा प्रविधि क्षेत्रमा लगानी गरेका कारण नै उनीहरु विकसीत भएको उनले बताए।
Shares

प्रतिक्रिया