ad ad

राजनीति


रास्वपाले भन्यो- अदालतको अनुमति लिएर पक्राउ गर्नु प्रेस स्वतन्त्रताको हनन होइन

‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र श्रमजीवी पत्रकार एकै होइनन्’
रास्वपाले भन्यो- अदालतको अनुमति लिएर पक्राउ गर्नु प्रेस स्वतन्त्रताको हनन होइन

रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाल


नेपालखबर
जेठ ९, २०८१ बुधबार १३:६, काठमाडौँ

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ।

रास्वपाका महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै अदालतको अनुमति लिएर पक्राउ गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै  होइनन्। अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन। यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन, अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ।’ 

रास्वपाकै सभापति रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले व्यक्तिगत प्रतिशोधमा सिरोहियालाई पक्राउ गरेर प्रेस जगत्‌लाई तर्साउन खोजको भनेर आलोचना भइरहेका बेला रास्वपाले त्यसको खण्डन गरेको हो। 

‘विधिको शासनको अर्को सौन्दर्य हो, कानुन भन्दामाथि कोही हुँदैन। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नैपर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित हो’, विज्ञप्तिमा भनिएको छ, ‘कोही-कोहीलाई छुनै हुन्न’ भन्नु सामन्ती कायरता हो। यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ।’

रास्वपाले अघि भनेको छ, ‘विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति हाम्रो पार्टीको उच्च सम्मान छ। तर एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैरकानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा हामीलाई अस्वीकार्य छ।’

यस्तो छ रास्वपाको पूरा विज्ञप्ति

राष्ट्रिय स्वतन्त्र पार्टी उदीयमान बहुलवादी लोकतान्त्रिक शक्ति हो। नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति यो दल कटिबद्ध छ। सम्मानित धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले हिजो व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य हाम्रो जानकारीमा आएको छ। नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक-अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौँ। विधिको शासनको अर्को सौन्दर्य हो: "कानुन भन्दामाथि कोही हुँदैन"।

जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित हो। "कोही-कोहीलाई छुनै हुन्न" भन्नु सामन्ती कायरता हो। यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ। विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति हाम्रो पार्टीको उच्च सम्मान छ। तर एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैरकानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा हामीलाई अस्वीकार्य छ।

नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्। अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन। यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन, अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ। न्यायको विधि पुगोस्। सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्नपर्छ भन्ने सन्देश जनतामा जाओस्। अन्ततः लोकतान्त्रिक कानुनी राज्यको जित होस्।

डा. मुकुल ढकाल ,महामन्त्री तथा प्रवक्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .