राजनीति


एमसीसी बाइबल होइन, परिमार्जन गर्न अमेरिकासँग कुरा भएको छ : प्रचण्ड

एमसीसी बाइबल होइन, परिमार्जन गर्न अमेरिकासँग कुरा भएको छ : प्रचण्ड

नेपालखबर
फागुन १०, २०७६ शनिबार ६:५६,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकासँग गरिएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन्।

शनिबार बिहान नवलपुरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अध्ययन कार्यदलले शुक्रबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको भन्दै अहिले त्यसको अध्ययन भइरहेको बताए। उनले एमसीसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताए।

‘५५ अर्बको एमसीसी परियोजनामा सुरुमा सबैले खुशी व्यक्त गरेकै हुन्। ट्रान्समिन लाइन र सडक बनाउन यत्रो अनुदान आउनु ठूलो कुरा हो’, प्रचण्डले भने, ‘सुरुमा सकारात्मक वातावरण थियो तर पछि एमसीसीबारे अध्ययन छलफल हुँदै जाँदा विभिन्न कुराहरू उठे।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पनि एमसीसी परिमार्जन गर्नुपर्छ भन्ने पक्षमा रहेको बताउँदै उनले यथास्थितिमै सो सम्झौता अनुमोदन नहुने बताए।

‘हाम्रो पार्टीको केन्द्रीय समितिमा पनि यो पूरै नेगेटिभ पनि होइन्, चुपचाप पास गरिहाल्नुपर्छ भन्ने पनि होइन्, राम्रोसँग बुझेर अध्ययन गरेर राष्ट्रको हितमा हुनेगरी टुंग्याउनुपर्छ भन्ने मत आएपछि कार्यदल बनाएका हौँ’, प्रेस संगठन नेपाल नवलपुरले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने।

उनले हिजोमात्रै प्रधानमन्त्रीले नेपाल भ्रमणमा आएको अमेरिकन रिपब्लिकन र डेमोक्रेटिक पार्टीको टोलीसँग परिमार्जनका विषयमा कुरा गरिसकेको जनाकारी दिए।

‘हिजो अमेरिकी टोलीसँग भेटेपछि प्रधानमन्त्रीले हामीलाई ब्रिफिङ गर्नुभयो– यो एमसीसी भनेको बाइबल होइन, केही परिवर्तन नगरी जस्ताको तस्तै पास गर्नु पर्ने’, अध्यक्ष प्रचण्डले भने, ‘हामीकहाँ केही चासो आयो भने यसलाई परिमार्जन गरेर जान सकिन्छ भनेर प्रधानमन्त्रीले नै अमेरिकीहरूसँग बताइसक्नु भएको छ।’

प्रचण्डले यसअघि पनि एमसीसी सम्झौतामा दुई पटक संशोधन भैसकेको बताए।

‘हाम्रो पार्टीको कार्यदलबाट पनि नेपालको राष्ट्रिय संवेदनशीलता सम्बन्धी केही विषयहरू परिमार्जन या परिवर्तन गरेर भएपनि यसलाई अगाडि बढाउनु पर्छ भन्ने आएको छ’, प्रचण्डले भने, ‘हामी त्यो प्रतिवेदन अध्ययन गर्दैछौं, एक दुई दिनमा बसेर त्यसलाई टुंग्याउँछौं। हामी एमसीसीबाट तर्सेका छैनौं, यसलाई परिपक्व ढंगले अगाडि बढाउन खोजेका हौं।’

अध्यक्ष प्रचण्डले सरकारको कामका विषयमा आजदेखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए। वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उनले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए।

फरक प्रसंगमा उनले नेकपाभित्र आन्तरिक विवाद नरहेको पनि स्पष्ट पारे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad