मुलुककै आर्थिक पारदर्शिता कायम गर्ने जिम्मा लिएको अर्थ मन्त्रालय कै क्यान्टिन व्यवसाय दर्ताविनै सञ्चालन हुँदै आएको पाइएको छ। सो क्यान्टिन अवैधानिक रुपमा सञ्चालन भएको मात्र नभई क्यान्टिनमा अखाद्य वस्तु समेत भेटिएको छ।
सिंहदरबार भित्रै सञ्चालनमा रहेको उक्त क्यान्टिन क्याटालिस्ट म्यानेजमेन्ट सर्भिसले सञ्चालन गर्दै आएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार गरेको अनुगमनमा क्रममा उक्त क्यान्टिन व्यवसाय दर्ताबिनै सञ्चालन गरेको भेटिएको हो।
व्यवसाय दर्ता नगरेको पाइएपछि अनुगमन टोलीले उक्त क्यानटिनलाई तत्कालै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।
साथै, उक्त क्यानटिनमा खान अयोग्य वस्तु समेत भेटिएको छ। विभागका अनुसार क्यानटिमा १ हजार १ सय ४० रुपैया बराबरको अखाद्य वस्तु भेटएको थियो। उक्त वस्तुलाई तत्काल नष्ट गर्न वा सम्बन्धित ठाउँमा फिर्ता गर्न निर्देशन दिइएको विभागले जनाएको छ।
त्यस्तै अनुगमन टोलीले सिंहदरवारभित्रै रहेको ऊर्जा मन्त्रालयको क्यानटिनलाई पनि सुधारका लागि निर्देशन दिएको छ। ऊर्जाको क्यानटिन न्यु कञ्चन चमेना गृहले सञ्चालन गर्छ।
बिहीबाररै भएको अनुगमनका क्रममा भैँसेपाटीमा रहेको महानगर इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ मार्टलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। व्यवसाय प्रमाणपत्र नभएका कारणले उक्त मार्टलाई तत्कालै जरिवाना गरिएको विभागले जनाएको छ।
अनुगमनका क्रममा कार्यविनायकमा रहेका एसएनएस स्टोरमा १ हजार ५ सय ६० रुपैया बराबरको अखाद्य वस्तु फेला परेको थियो। उक्त वस्तु नष्ट गर्न वा सम्बन्धित ठाउँमा फिर्ता गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

प्रतिक्रिया