राजनीति


मानुषीको खेतमा अर्काे साल मेसिनले जोत्ने डा बाबुरामको रहर

मानुषीको खेतमा अर्काे साल मेसिनले जोत्ने डा बाबुरामको रहर

नेपालखबर
असार १६, २०७६ सोमबार १०:१,

सामाजिक सञ्जालमा आइतबार (१५ असार) दिउसोदेखि प्रतिनिधि सभाका दुई सदस्यका तस्वीर भाइरल बने। छन्। एउटा तस्वीर ललितपुर–१ बाट निर्वाचित नेकपा सांसद नवराज सिलवालको थियो भने अर्काे तस्वीर नयाँ शक्ति नेपाल (हाल समाजवादी पार्टी नेपाल) को तर्फबाट गोरखा–२ बाट निर्वाचित पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको।

दुबै तस्वीर १५ असार अर्थात् ‘रोपाइँ दिवस’ का अवसरमा खिचिएका हुन्। तस्वीरमा सिलवाल धान रोपिरहेको (अभिनय गरिरहेका) देखिन्छन्। ‘धान रोपाइँ’ मा सहभागी सिलवालले हातमा पञ्जा लगाएर धानको विउ समातिरहेका छन्। टिलिक्क टल्किने जुत्ता र सफा सर्टपाइन्टमा सजिएका उनमा रोपाइँका बेला आफ्नो हात र शरीरमा हिलो लाग्ला भन्ने कुरामा उनी निकै सचेत देखिन्छन्।

पूर्व प्रधानमन्त्री डा भट्टराई भने अलिक फरक परिधानमा देखिन्छन्। उनको खुट्टा खालि छ। हाफपाइन्ट लगाएका छन्। शरीरको माथिल्लो भागमा सर्ट र त्यो माथि जुहारीकोट छ। घाँटीमा गाउँले लगाइदिएको खादा छ। शीरमा रंगिन छत्रेटोपी लगाएका छन्। उनको शरीरमा जे जति पहिरन देखिन्छ, सबैमा हिलो लागेको छ। ठ्याक्कै गाउँले किसान भन्दा फरक देखिन्नन् उनी।

 2 8

हिलाम्मे पहिरनमा रहेका डा भट्टराईले रोपाइँका लागि जोतेर कमलो पारिएको, तर उखडबाखड भएको हिलो माटो सम्याउन हलगोरुका साथ दाँदे चलाइरहेका छन्। दाँदे लगाएरपनि सम्मिन नसकेको जमिन सम्याउन अर्काे एउटा तस्वीरमा उनी भाई शिवप्रसाद र अन्य गाउँलेहरुका साथ कोदाली प्रयोग गरिरहेका छन्।

तस्वीर उनको गृहजिल्ला गोरखाको पालुङटार नपा–१, दरौँदी भुसुने खोला वरिपरिको खेतको हो। त्यहाँ आयोजना गरिएको धान रोपाइँमा सरिक भएपछि डा भट्टराईले ती तस्वीर आफ्नै फेसबुक र ट्वीटरमार्फत् सार्वजनिक गरेपछि केन्द्रित रहेर डा भट्टराईको यो गतिविधिमाथि सामाजिक सञ्जालहरुमा आइतबारदेखि नै चर्चा र बहस सुरु भएको छ।

हलगोरु सहित अनौ र हिलाम्मे शरीर सहितको डा भट्टराईका तस्वीरप्रति टिप्पणी गर्दै अधिकांसले उनको यो कर्मको स्वागत गरेका छन्। अधिकांस नेताहरुले १५ असारको दिन धान रोपेको नाटक गरेजस्तो तस्वीर पोष्ट गर्ने गरेपनि ‘एक दिन भएपनि भट्टराई साँच्चिकै कृषक र हली बनेको’ टिप्पणी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गरेका छन्।

कतिपयले भने प्रधानमन्त्री हुँदा कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा त्यो नगरी अझैपनि पुरानै कृषि प्रणालीमा मुलुकलाई राखेको भन्दै डा भट्टराईको हल्का आलोचना पनि गरेका छन्।

आइतबारको धान रोपाइँमा सरिक भएपछि भट्टराई राजनीतिक कामको सिलसिलामा सोमबार पोखरा प्रस्थान गरेका छन्। तर, उनी ‘हली’ बनेका तस्वीरहरुको चर्चा भने सेलाएको छैन। प्रस्तुत छ, पोखरा प्रस्थान गरिरहेका डा भट्टराईसँग नेपालखबरले गरेको फोन सम्बादः

तपाईं हली बनेको तस्वीरहरुको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ। त्यही चर्चाका लागि त होला नि तस्वीर पोष्ट गर्नुभएको?
म अहिले पनि गाउँमै छु भन्दा हुन्छु। गोरखाको कार्यक्रम सकेर पोखरा जाँदैछु। सामाजिक सञ्जालहरुमा के कस्तो प्रतिक्रिया आइरहेको छ, त्यो मैले हेर्न पाएको छैन।

जहाँसम्म चर्चाका लागि भन्ने प्रश्न हो, मैले चर्चाको लागि यो काम गरेको होइन। म आफै किसानको छोरो हुँ। खेतिपाती गरेर नै म यहाँसम्म आइपुगेको हुँ। यस्ता गतिविधिमा सरिक हुँदा पहिले पनि यसैगरी तस्वीर पोष्ट गर्ने गरेको छु।

तस्वीर हेर्दा के देखियो भने, तपाईं जोत्न, दाँदे लगाउन पारङ्गत हुनुहुँदो रहेछ। सानैमा यो काम गर्नुभएको थियो कि! 
सानैमा मैले सबै काम गरेको छु। गोठालो गएको छु। आली लगाएको छु। खेत खनेको छु। भारी बोकेको छु।

3 5

हामी सानै छँदा दरौँदी किनार र वरिपरि हाम्रो थुप्रखेत थियो। २ सय मुरी धान फल्थ्यो। ब्राम्हण परिवार भएकाले हलो जोत्न हुँदैन भन्ने भएकाले बुबाले चाहिँ जोत्नुभएन।

असार–साउनमा बुबाआमा धान रोप्न जानुहुन्थ्यो। बुबाले आली लगाउनु हुन्थ्यो, आमाले धान रोप्नु हुन्थ्यो। रोपाइँमा हामी केटाकेटीले पनि सघाउथ्यौँ।

बुबाआमा धान रोप्न जाँदा हामी गाइभैँसी चराउन गोठालो जान्थ्यो। पछि ठूलो भएपछि मैले पनि हलो जोत्ने, आली लगाउन काम गरेँ। उच्च शिक्षा अध्ययनका लागि गएपछि चाहिँ यो क्रम टुट्यो।

अनि हली बन्दा लगाएका कपडाको जोगाड कसरी गर्नुभयो?
सर्ट र हाफकोट काठमाडौँबाटै लगाएर आएको कपडा हो। हाफपाइन्ट चाहिँ यहीँ आएर लगाएको हुँ। धान रोपाइँ सकिएपछि हाफप्यान्टको साटो पाइन्ट र बाँकी तिनै कपडा लगाएर अहिले हिँडिरहेको छु।

यस पटक कति वर्षपछि धान रोप्नु भएको हो?
झण्डै ४० बर्षपछि। तर गतसाल पनि म धान रोपाइँमा सहभागी भएको थिएँ। गत साल दरौँदी किनारको जखेर भन्ने ठाउँमा रोपाइँमा भाग लिएको थिएँ। यसपटक चाहिँ दरौँदी किनारकै भुसुने खोला भन्ने ठाउँमा सहभागी भएँ।

दाजुभाई छुट्टिभिन्न भएपछि मेरो भागमा परेको थोरै जमिन थियो त्यहाँ। त्यसमध्ये आधा भाग जनयुद्धका बेला पार्टीलाई दिएँ, आधा भाग राखेको थिएँ। त्यो जग्गा अहिले छोरी मानुषीको नाममा पास गरिदिएको छु। आइतबार त्यही खेलमा मैले रोपाइँ गरेको हुँ।

अनि, हलगोरु कसका हुन्, रोपाइँ कार्यक्रम पारिवारिक हो कि राजनीतिक?
गत स्थानीय तह निर्वाचनमा पालुङटार नपा– १ मा हाम्रै पार्टी (नयाँशक्ति नेपाल) ले विजय हासिल गरेको थियो। यसपटकको रोपाइँ कार्यक्रम वडा नं १ र ‘सफल मल्टिपर्पाेज कृषि फर्म’ ले संयुक्त रुपमा आयोजना गरेका हुन्।

6 6

मानुषीलाई दिएको जुन जग्गा हो, त्यही जग्गामा राजीव गुरुङ नामका एकजना स्थानीय साथीले ‘सफल मल्टिपर्पाेज कृषि फर्म’ खोल्नुभएको हो। त्यहाँ उहाँले खेतिपातीका साथै माछापालन र पशुपालन पनि गरिरहनु भएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले कृषिमा आधुनिक प्रविधिलाई प्रोत्साहन गर्नुगर्नेमा अनौ समातेर पुरानै प्रविधिलाई प्रोत्साहन गरेको भन्ने गुनासो गरेका छन् नि!
उहाँहरुको भनाई सही हो। हामीले अहिलेसम्म अपनाउँदै आएको कृषि प्रविधि पुरानो छ। कृषि प्रणाली पनि परम्परागत खालको छ। यो निर्वाहमुखीमात्र छ। आम्दानी हुने गरी हामीले हाम्रो कृषि प्रणालीको विकास गर्नुपर्छ।

१५ असारको रोपाइँमा हामीले हलो जोत्यौँ। तर ‘सफल मल्टीपर्पोज कृषि फर्म’ का साथी राजीव गुरुङले खनजोतका लागि मेसिन प्रयोग गर्न थालिसक्नु भएको छ। अरु किसानहरुले पनि कृषिका लागि यसरी नै आधुनिक प्रविधिको प्रयोग गर्दै जानुपर्छ भन्छु मपनि। अर्काे सालको १५ असारमा सम्भवतः मेसिनले नै जोतिन्छ।

अन्तिम प्रश्न, कम्तिमा तपाईं त हिलोमै पसेर अनौ समाउनु भयो, कोदालो समातेर आली लगाउनु भयो। तर अधिकांस नेताहरु ‘हिलोमा पसेजस्तो गरी धान रोपेको अभिनय’ गर्छन्। यसबारे के भन्नुहुन्छ?
राजनीतिक नेताहरु सधैँ हलो–कोदाली समातेर कृषिकार्यमा सहभागी हुन सक्दैनन्। उनीहरुले गर्न सक्ने, यस्तै अवसरमा सहभागी भएर किसानलाई उत्पे्ररणा दिने हो। आफू जिम्मेवारीमा भएका बेला किसान र कृषिका लागि अनुकूल नीति निर्माण गरिदिने हो।

4 4

अरुको बारेमा त म भन्न सक्दिनँ। मेरो आफ्नो कुरा चाहिँ के हो भने, अरु गर्न नसकेपनि बर्षमा एक दिन भएपनि जनतासँग साँच्चिकै जोडिने काम गर्नुपर्छ। कम्तिमा एक दिन बसेर किसानसँग काम गर्न पाइयो भने, उनीहरुको सुखदुख बुझ्न सकिन्छ, जनतासँग जोडिन पाइन्छ।

उनीहरुका समस्या बुझ्न सकियो भने तिनलाई समाधान गर्ने उपायको खोजी पनि सहज रुपमा गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad