चीनले नेपालको नयाँ गठबन्धनको सरकारसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेको छ।
चिनियाँ विदेश मन्त्रालयले नेपाली पार्टीहरुले मिलेर राजनीतिक स्थायित्व, आर्थिक विकास र जनजीविका सुधारका लागि काम गर्ने अपेक्षा पनि व्यक्त गरेको छ।
मंगलबारको नियमित पत्रकार सम्मेलनमा ग्लोबल टाइम्सले प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको साझेदारी तोडेको र फेरि एमालेसँग गठबन्धन गरेकोमा चीनको प्रतिक्रिया मागेको थियो।
‘नेपालले नयाँ गठबन्धन सरकार बनाएको चीनले संज्ञान लिएको छ। नेपालका सम्बन्धित पक्षहरुले नयाँ सरकार गठनसम्बन्धी कार्यलाई सहज रूपमा अघि बढाउन र राजनीतिक स्थायित्व, आर्थिक विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन एकताबद्ध भई सहकार्य गर्ने विश्वास हामीलाई छ,’ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनेकी छन्।
मित्रवत् छिमेकी र सहयोगी साझेदारका रुपमा चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिने उनले बताइन्।
‘हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई कायम राख्न, आफ्नो परम्परागत मित्रतालाई थप गहिरो तुल्याउन, व्यापारिक सहयोगलाई मजबुत पार्न र चीन–नेपाल रणनीतिक साझेदारी अघि बढाउन इच्छुक छौँ,’ उनले थपिन्।
सोमबार मात्र नेपालमा सत्ता गठबन्धन परिवर्तन भएको थियो।
Shares
प्रतिक्रिया