ad ad

राजनीति


बालकुमारी घटना : मन्त्री ज्वालाले घरेलु चालक लगेका थिए, नैतिक जिम्मेवारी पनि लिएनन्

बालकुमारी घटना : मन्त्री ज्वालाले घरेलु चालक लगेका थिए, नैतिक जिम्मेवारी पनि लिएनन्

नेपालखबर
फागुन ४, २०८० शुक्रबार २२:७, काठमाडौँ

गत पुस १३ गते ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनामा प्रमुख्य दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला भएको निष्कर्षसहित जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ।

उक्त घटना घट्नुमा मन्त्रीको कमजोरीका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको छ। जाँचबुझ आयोगका एक सदस्यका अनुसार, मन्त्री ज्वाला जानै नमिल्ने एकतर्फी बाटोमा जानु, शान्ति सुरक्षाको चुनौतीलाई स्वीकार नगर्नु, जे पर्छपर्छ भनेर अगाडि बढ्नु र आन्दोलित भीडलाई बेवास्ता गर्नु घटनाको कारक बनेको समितिको निष्कर्ष छ।

यस्तै घटनाको दिन ज्वालाले मन्त्रीका लागि दिइएको सरकारी सवारी चालकलाई नभई आफ्ना घरेलु सवारी चालकसँग थिए। मन्त्रीका लागि दिइएका चालकलाई लगेको भए पनि उक्त घटनामा सजगता अपनाउन सक्ने आयोगको ठहर छ। किनभने, विशिष्ट पदाधिकारीका सरकारी चालकलाई विभिन्न आपतकालीन अवस्था छल्न र सुरक्षात्मक उपाय अपनाउन तालिम दिइएको हुन्छ। 

यस्तै घटनापछि पनि मन्त्री ज्वाला गैरजिम्मेवार देखिएको आयोगको ठहर छ। आयोगले भनेको छ, ‘त्यत्रो घटना हुँदा पनि मन्त्रीले नैतिक रूपमा कतिखेर पनि जिम्मेवारी लिएनन्। पीएसओको कुरा पनि ध्यान दिएनन्।’

अब मन्त्रीलाई के कारबाही हुन्छ? भन्ने जिज्ञासामा आयोगका ती सदस्यले भने, ‘मन्त्रीको कमजोरी छ भनेर जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई जानकारी गरायो। जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई उहाँको जागिर नै खाइदिनुस् भन्न सक्दैन। तर प्रधानमन्त्रीलाई यो रिपोर्ट दिइसकेपछि के कारबाही गर्ने भन्ने उहाँको हातमा हुन्छ।’

आयोगले शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा प्रहरीको पनि कमजोरी रहेको औंल्याइएको छ। ललितपुर प्रहरीका तत्कालीन फिल्ड कमान्डर डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाको पीएसओ बोधराज दनुवारको पनि कमजोरी भएको आयोगले औंल्याएको छ।

त्यस दिन मन्त्रीको गाडी जलाउन लागेको सूचनापछि जोगाउन जाने क्रममा प्रहरीले गोली चलाउँदा २ जनाको ज्यान गएको थियो। मृत्यु हुनेमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .