ad ad

राजनीति


कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, संसद खुल्ला कि आन्दोलन चर्केला?

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, संसद खुल्ला कि आन्दोलन चर्केला?

नेपालखबर
माघ २६, २०७६ आइतबार ११:५२,

ललिता निवास जग्गा प्रकरणमा उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले थप रणनीति तय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।

तीन दिनयता संसद अवरुद्ध गरेको कांग्रेसले सडक आन्दोलन पनि चर्काइरहेको छ।

अब कांग्रेस आगामी कार्यक्रम तय गर्न सोमबार केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेस सांसद डिला संग्रौलाले जानकारी दिइन्।

‘पार्टीको उपसभापतिमाथि सरकारले संवैधानिक निकाय प्रयोग गरिरहेको छ,’ उनले नेपालखबरसँग भनिन्, ‘अब कसरी अघि बढ्ने भन्नेबारे पार्टीको केन्द्रीय समितिको बैठकमा छलफल हुन्छ।’

बालुवाटारमा रहेको ललितानिवासको सावैजनिक जग्गा व्यक्तिको नाममा सारिएपछि अख्तियारले १ सय ७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सत्तारुढ नेकपा निकटलाई जोगाएर गच्छदारलाई फसाएको भन्दै कांग्रेस आन्दोलनमा उत्रिएका छन्। गत बिहीबारदेखि नै माइतीघरमा कांग्रेसले प्रदर्शन र नाराबाजी गरिरहेको छ।

अख्तियारजस्तो संवैधानिक निकायले स्वतन्त्र र निष्पक्ष काम गर्न नसकेको, सरकारको छाया बनेको आरोप कांग्रेसले लगाउँदै आएको छ। आइतबारको संसद बैठक पनि अवरुद्ध गरेको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा पुगिसकेको मुद्दाको निरुपण संसदले नगर्ने जवाफ दिएका छन्। यसपछि संसदको गतिरोध खुलाउने कि चर्काउने भन्ने दुविधामा कांग्रेस परेको छ।
सोमबार १ बजे बस्ने बैठकले थप कार्यक्रम ल्याउने संग्रौलाको भनाइ छ।

उनका अनुसार संसद बैठक अवरोध गर्न कि अरु नै रचनात्मक कार्यक्रम लिएर जनतामाझ जाने भन्ने निर्णय बैठकले गर्नेछ।

संसदको अर्काे बैठक मंगलबार बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .