ad ad

राजनीति


संसदको महासचिवमा पाण्डेलाई नै नियुक्त गर्ने शीतलनिवासको तयारी

संसदको महासचिवमा पाण्डेलाई नै नियुक्त गर्ने शीतलनिवासको तयारी

नेपालखबर
माघ १४, २०८० आइतबार १९:१८, काठमाडौँ

संघीय संसद सचिवालयको महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त हुने भएका छन्।

मंसिर २५ गते तत्कालीन महासचिव भरतराज गौतमले राजीनामा दिएपछि राष्ट्रिय सभाका सचिव पाण्डेलाई महासचिव नियुक्तिका लागि सिफारिस गरिएको थियो।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेसम्म विचाराधीन नै राखेका छन्।

‘राष्ट्रिय सभाको निर्वाचन पनि सम्पन्न भएको र कार्यविधिगत अन्योल पनि हटेको’ले अब पाण्डेलाई नै नियुक्त गर्ने निष्कर्षमा शीतल निवास पुगेको राष्ट्रपतिका एक सल्लाहकारले नेपालखबरलाई जानकारी दिए।

यसबीचमा पाण्डेको जन्म मिति र नागरिकतासम्बन्धी विवाद पनि बाहिरिएको थियो। प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका तर्फबाट गृह मन्त्रालयमा यसबारे सोधखोज पनि गरिएको थियो।

‘बाहिर केके विषय आए, त्यसमा चासो राख्ने संवैधानिक अधिकार राष्ट्रपतिसँग छैन,’ ती सल्लाहकारले भने, ‘हाम्रो नोटिसमा छन् तर विधिसम्मत रूपमा राज्यका जिम्मेवार निकायले टुंग्याउनुपर्छ। त्यस्ता विषयलाई लिएर अब राष्ट्रपतिज्यू निर्णयविहीन बस्नुहुन्न।’

ती सल्लाहकारका भनाइमा, राष्ट्रिय सभाको निर्वाचनका कारण पनि नियुक्तिमा केही दिन ढिलाइ भएको हो। 

यसअघि सिफारिस लामो समय अलपत्र परेपछि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले ताकेतास्वरूप राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र पनि लेखेका थिए।

राष्ट्रपतिले उक्त सिफारिस अड्काइदिएपछि पाण्डेलाई गत मंसिर २७ गते संसद् सचिवालयको कार्यवाहक महासचिव बनाइएको थियो।  

संविधानको धारा १०६ मा प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा राष्ट्रपतिले संघीय संसद्‌को महासचिव नियुक्त गर्ने व्यवस्था छ। 

राष्ट्रपतिसँग यस्ता सिफारिस अस्वीकार गर्ने वा निर्णयविहीन राख्ने संवैधानिक अधिकार नभएको निष्कर्षका साथ अबको केही दिनमै नियुक्त गर्ने निष्कर्षमा शीतलनिवास पुगेको हो।

तत्कालीन महासचिव भरतराज गौतमले नौ महिना कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए।

संघीय ससंद्को सचिव हुनुअघि पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा नायब महान्यायधिवक्ता थिए। उनलाई २०८० वैशाख ७ गते संसद् सचिवालयको सचिव नियुक्त गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .