राजनीति


जीवनभर श्रीमतीले सहयोग गरिन्, अहिले विरामी हुँदा उनलाई सकेजति गर्दैछुः प्रचण्ड

जीवनभर श्रीमतीले सहयोग गरिन्, अहिले विरामी हुँदा उनलाई सकेजति गर्दैछुः प्रचण्ड

नेपालखबर
माघ २५, २०७६ शनिबार १६:३६,

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीमती सीतालाई गम्भीर रोग लागेको र बचाउने प्रयास भइरहेको बताएका छन्।

‘अहिले मेरो श्रीमतीको अवस्था सबैलाई थाहा छ, उनको रोग असाध्यै खालको रहेछ– सबैभन्दा खराब प्रकारको पार्किन्सन रहेछ’, प्रचण्डले भने, ‘एक जना श्रीमानको हैसियतले मैले लगातार बचाउने कोसीस गरिरहेको छु।’

प्रचण्डले जीवनभर श्रीमतीले आफुलाई सहयोग गरेको र अहिले विरामी भएको बेलामा ‘उनको निम्ति सक्नेजति सबै गर्नुपर्छ’ भनेर लागिराखेको बताए।

शनिबार कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’ अन्तर्गत ‘प्रचण्डसँग परिसंवाद’ कार्यक्रममा उनले पारिवारिक सम्बन्धलाई व्यवस्थापन गर्दै आफु निरन्तर राष्ट्र र जनताका लागि राजनीतिमा सक्रिय रहेको बताए।

‘श्रीमतीलाई कुनै पनि दिन केही पनि हुनसक्छ भन्ने मैले मानसिक रुपमा आफुलाई तयार गरेको छु’, कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मासँगको परिसंवादमा प्रचण्डले भने, ‘ त्यसपछि राष्ट्र र जनताका निम्ति अझ बढी सक्रिय भएर मेरो आफ्नो जीवन बिताउनु पर्छ भन्ने मानसिकता मैले बनाएको छु।’

क्यान्सर रोगबाट छोरी र हर्ट अट्याकबाट छोरा गुमाएका प्रचण्ड अहिले श्रीमती सीताको उपचारका क्रममा बेलाबेला विदेश समेत जाने गरेका छन्। यसअघि उपचारका लागि श्रीमतीलाई लिएर उनी सिंगपुर र अमेरिका पुगेका थिए भने पछिल्लो समय सीता छोरी गंगाको साथमा आयुर्वेदिक उपचारका क्रममा रामदेवलाई भेट्न भारतको हरिद्वार पुगेकी थिइन्।

PrachandaSita

छोरी र छोराको मृत्यु तथा श्रीमतीको खराब स्वास्थ्य अवस्थाबीच पनि कसरी सक्रिय राजनीतिका लागि समय व्यवस्थापन गर्न सक्नु हुन्छ भन्ने प्रश्नमा प्रचण्ड अलि भावुक रुपमा प्रस्तुत भए।

‘पारिवारिक कुराको संवेदनशीलता आफ्नो ठाउँमा छँदैछ’, प्रचण्डले भने, ‘छोरीको क्यान्सरबाट मृत्यु हुँदा वा छोरोको हर्ट अट्याकबाट मृत्यु हुँदा एक जना बुबाको हैसियतमा हुने पीडा मैले भोगेको छु र त्यो कुरा सबैले देख्ने गरी प्रस्तुत पनि गरेको छु।’

तर आफु शुरुदेखि नै राष्ट्रका र जनताका लागि काम गर्नुपर्छ भनेर राजनीतिमा लागेको र यस्ता प्रत्येक घटनाले आफ्नो उद्देश्यका लागि अझ बढी समर्पित भएर लाग्नुपर्छ भन्नेतिर दिमाग जाने गरेको प्रचण्डले बताए।

सामान्यतः मानिसहरू यस्ता घटनाबाट विक्षिप्त हुने र अलि पछाडि हट्ने गरेको भन्दै प्रचण्डले आफुभित्र त्यस्तो आउने नगरेको बताए।

‘चुनावको क्लाइमेक्सतिर दुर्घटनाजस्तो गरी छोरा प्रकाशको मृत्यु हुनु बडो कठोर कुरा थियो’, छोरी र छोराको मृत्युका बेला आफुले एउटै संकल्प गरेको स्मरण गर्दै प्रचण्डले भने, ‘तर त्यही दिन मैले अब नेपालका सबै युवालाई प्रकाश देख्नुपर्छ र त्यसका निम्ति मैले दश गुणा बढी शक्तिका साथ काम गर्नुपर्छ भन्ने संकल्प गरें र त्यसै गरेको छु।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad