ad ad

राजनीति


संसद बैठक सूचना टाँसेर स्थगित

संसद बैठक सूचना टाँसेर स्थगित

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ९:४८,

आफ्ना संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई अख्तियारले मुद्दा चलाएको विरोधमा कांग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

शुक्रबार सवा एक बजे बसेको संसदको बैठक कांग्रेसले उठेर विरोध जनाएपछि आधा घन्टाका लागि स्थगित भएको थियो।

आधा घन्टाका लागि स्थगित बैठक फेरि बस्दै नबसी आगामी आइतबारसम्मका लागि स्थगित भएको संघीय संसदका निमित्त महासचिव गोपालनाथ योगीले जानकारी दिए। सचिवालयले सूचना प्रकाशित गरी आइतबार (माघ २६ गते) दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको हो।

त्यसअघि बैठकको सुरुमै बोल्दै कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले बालुवाटारमा रहेको ललितानिवासको जग्गा अनियमितता प्रकरणमा अख्तियारले आफ्नै अधिकार दुरुपयोग गरेको आरोप लगाएका थिए। सांसद विश्वकर्माले अख्तियारले कसुरदारलाई उन्मुक्ति दिएर निर्दोष व्यक्तिलाई फसाउन खोजेको आरोप लगाए। उनले अख्तियार सरकारको छायामा परेको आरोप पनि थिए । सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएर कांग्रेसका नेतासहित अन्य सोझासाधालाई मुद्दा लगाएको विश्वकर्माका भनाई थियो।

कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलगायतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सांसद विश्वकर्माले निर्दोष विजय गच्छदारलाई पक्रिएर सारा अपराधीलाई दिने प्रपञ्च रचिएको आरोप लगाए। उनले भने, सरकारले नियोजित योजनामा अख्तियारले कांग्रेसका सांसद थुन्ने काम अघि बढाएको छ, अख्तियार सरकारको छाँया भएर सत्तारुढ पक्षकालाई बोक्ने र अरुलाई ठोक्ने कार्य बेठिक छ।’

सोही विषयलाई लिएर हिजोदेखि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ।

यसअघि शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले शुक्रबारको संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो। गच्छदारमाथि प्रतिशोध साधेर भ्रष्टाचार मुद्दा दर्ता गरेको भन्दै कांग्रेसले विहीबार पनि संसद बैठक अवरुद्ध गरेको थियो।

बालुवाटारमा रहेको ललिता निवास जग्गा व्यक्तिका नाममा बनाएर खरिदविक्री गर्नेमध्ये १ सय ७५ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले दायर गरेको मुद्दामा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले आफ्नो छोराका नाममा किनेको जग्गा भने फिर्ता दिने सर्तमा मुद्दा नचलाएको भन्दै कांग्रेस असन्तुष्ट बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .