राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता पास गरेको छ।
आज (बुधबार) बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिएका छन्।
बैठकले पार्टीको आर्थिक नियमावली, प्रशासनिक नियमावली, विभागहरुको कार्य सञ्चालन नियमावली र तहगत समितिका पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता पारित गरेको ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै, केन्द्रीय सदस्य डा. प्रभात अधिकारीलाई नव प्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा नियुक्त गरिएको छ
केन्द्रीय विभागहरुलाई आफ्नो नियमित जिम्मेवारीसहित प्राथमिकतामा सम्पादन गर्नुपर्ने काम तोकिएको रास्वपाले जनाएको छ।
यसैगरी, सहकारी र लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न नीतिगत उपाय र योजनाबारे अर्थ नीति विभागले तयार गरेको प्रारम्भिक प्रतिवेदनका मुख्य बुँदाहरु उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले जानकारी गराए।
माघ १५ सम्म पूर्ण प्रतिवेदन तयार गरी पीडितको पक्षमा तुरुन्तै र आउँदो संसद अधिवेशनमा रास्वपाले जोडदार आवाज उठाउने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ।
यसैगरी भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरिएको छ। त्यस्ता आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मितिसमेत प्रस्ताव गर्न एक कार्यदल गठन गरिएको छ रास्वपाले जनाएको छ।
Shares
प्रतिक्रिया