ad ad

राजनीति


नेपाली समाजको एकता र समानता लागू हुने क्रममा छ : राष्ट्रपति पौडेल

नेपाली समाजको एकता र समानता लागू हुने क्रममा छ : राष्ट्रपति पौडेल

नेपालखबर
पुस २, २०८० सोमबार १६:१८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान शासन व्यवस्था विविधतायुक्त नेपाली समाजको एकताका लागि महत्त्वपूर्ण रहेको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा बोल्दै उनले जनताको ठूलो दुःख र त्यागपश्चात् यो शासन व्यवस्था आएको र यसले नेपाली समाजको एकता तथा समानता लागू गर्ने क्रममा रहेको बताए।

राष्ट्रपति पौडेलले त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भएकाहरूसँग जनता र राष्ट्रको भाग्य र भविष्य पनि जोडिएकाले सोही अनुसारको काम गर्नुपर्ने बताए।

राष्ट्र र जनताप्रति दायित्त्व नभुली अघि बढ्न शिक्षित युवाहरूले राष्ट्र निर्माणको काममा लागिपर्ने विश्वास उक्त अवसरमा राष्ट्रपति पौडेलले व्यक्त गरे। सक्षम, सबल र समृद्ध राष्ट्र निर्माणका लागि शिक्षित युवाको भूमिका महत्त्वपूर्ण राष्ट्रपति पौडेलको भनाइ छ।

‘तपाईँहरूमा हाम्रो मुलुकको भाग्य र भविष्य जोडिएको छ। राज्यको लगानी भन्नुको तात्पर्य जनताकै लगानी हो। तसर्थ, यहाँहरूको राष्ट्र र जनताप्रति केही दायित्त्व र केही कर्तव्य छ। त्यो दायित्त्व र कर्तव्य निर्वाह गर्ने कुरामा यहाँहरू चुक्नुहुने छैन भन्नेमा म आशावादी छु,’ राष्ट्रपति पौडेलको भनाइ छ, ‘साथै तपाईँहरूले प्राप्त गर्नुभएको ज्ञान, सीप र प्रविधि राष्ट्र निर्माणका लागि उपयोगी हुनेछ। र, एउटा सक्षम, सबल तथा समृद्ध राष्ट्र निर्माणका लागि आज दीक्षित हुने तपाईँ छात्रछात्राहरूको भूमिका महत्त्वपूर्ण हुनेमा म विश्वस्त छु।’

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरका कारण नेपालको सगरमाथासहितका हिमाल काला पहाडमा रूपान्तरण हुन लागेकोमा चिन्ता व्यक्त गर्दै त्यसो हुन नदिन पनि शिक्षित युवाहरूले कार्बन उत्सर्जनको कामलाई न्यूनीकरण गर्दै लैजान नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .