ad ad

राजनीति


गठबन्धन दलले देशमा विभाजन र विखण्डनको बिउ रोपे : ओली

गठबन्धन दलले देशमा विभाजन र विखण्डनको बिउ रोपे : ओली

नेपालखबर
मंसिर १८, २०८० सोमबार १८:२४, सुर्खेत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  देशमा मनपरितन्त्र चलिरहेको आरोप लगाएका छन्।

बैतडीको झुलाघाट मध्यपहाडि लोकमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत पुगेका ओलीले अहिले अपवित्र गठबन्धनको सरकारका कारण देशको राष्ट्रियता कमजोर भएको, देशको स्वतन्त्रता कमजोर भएको र सीमा रक्षामा पनि चुकेको बताए।

देश चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ प्रतिशत ब्याजदरमा जनतासँग आन्तरिक ऋण लिएर कर्मचारी पाल्नुपर्ने, ऋण काडेर देश चलाउनु पर्ने नाजुक अवस्थामा पुगेको उनले उल्लेख गरे।

पूर्वप्रधानमन्त्री ओलीले भने ‘देश अहिले इतिहासमै कमजोर अवस्थामा पुगेको छ। देशलाई भ्रष्टाचार, घुषखोरी, कमिशनतन्त्रको जालोले छोपेको छ। देशको सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ तर सरकार कानमा तेल हालेर बसेको छ। यो अवस्था गठबन्धन सरकारले ल्याएको हो।’

अध्यक्ष ओलीले सत्तागठबन्धन दलहरूले देशमा विभाजन र विखण्डनको बिउ रोपेको आरोप लगाए।

सुर्खेतमा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै ओलीले देशको स्वाभिमान, देशको अस्थितत्व रक्षा र समृद्धीका लागि, भ्रष्टाचार र घुसखोरी अन्त्यको लागि एमालेको नेतृत्व आवश्यक रहेको जिकीर गरे।

ओलीले वर्षका आधारले मात्रै राजनीतिक दल पुरानो नहुने बताए।

पछिल्लो समय ठूला राजनीतिक दलहरुलाई पुराना दलको संज्ञाप्रति इंगित गर्दै ओलीले पार्टीको नीति, विचार र कार्यक्रमका आधारमा मात्रै राजनीतिक पद नयाँ र पुरानो हुने बताए।

‘कुनैपनि वर्षले पुरानो हुने होइन नीति र विचारले पुरानो हुने हो। कांग्रेस पार्टी पुरानो भयो। अहिलेको सरकार पुरानो भयो। कुनै नीति, भिजन र उद्देश्य विहीन सरकार एक वर्षमै धेरै पुरानो भैसक्यो’, उनले भने ‘एमालेलाई पुरानो भयो भन्ने को हो? हाम्रो पार्टीलाई कस्ले पुरानो भयो भन्छ? हामीसँग देशको रुपान्तरण गर्ने, नीति, उद्देश्य, कार्यक्रम, अभियान नयाँ छ, गतिसिल छ। त्यसैले एमाले पुरानो दल होइन बरु एमालेलाई पुरानो देख्ने नजर पुरानो हो।’

कार्यक्रम लगत्तै ओलीको टोली पुरातात्विक महत्व बोकेको कांक्रेबिहारको अवलोकनमा गएको छ। विभिन्न कार्यक्रम र भेटघाटमा सहभागी हुँदै एमाले अभियान टोली आज सुर्खेतमै वास बस्ने एमाले स्थायी कमिटी सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज गोरख बोगटीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .