यति सानो कुरा पनि के लेखिरहनुजस्तो लागिरहेको थियो। त्यसैले तुरुन्त लेखिनँ। तर त्यही ‘सानो’ लाग्ने विषय लाखौँ मान्छेको उत्पीडन, आत्मसम्मान र अधिकारसँग जोडिएको छ। यसैले अन्ततः लेख्ने निर्णयमा पुगेँ।
हरेक दिनजस्तै म त्यस दिन बिहान पनि सिर्जनाचोक (चन्द्रागिरि नगरपालिका-१) बाट सार्वजनिक बस चढेँ, थापाथलीस्थित नेपालखबरको कार्यालय जान। शनिबार भएकाले सिट पाइयो। जोडा सिटमध्ये अर्कामा बसेका थिए– एकजना सुकिलामुकिला, गोरो वर्णका, सिलिक्क परेको शरीर, चुच्चो नाक, शिरमा ढाकाटोपी।
लाग्थ्यो, त्यो हुलियामा निधारमा चन्दन भए अझ गज्जब देखिन्थ्यो।
उमेर ५० वर्ष आसपास। कालो ब्याग काखमा राखेका उनले झन्डै दुइटै सिट ओगटेका थिए। त्यस्तैमा म अप्ठेरो गरी एक छेउमा बसेँ। र, पनि उनले आफ्नो ब्याग सारेनन्, शरीर सम्हालेनन्। अर्थात् मेरा लागि ठाउँ बढाएनन्।
बरु भने, ‘हेर्नुस् न, मान्छेहरूलाई पैसाको मात्रै मतलब छ। यति सानो ठाउँलाई दुइटा सिट बनाइएको छ! यो दुईजना अट्ने ठाउँ हो त!’
उनले संसार स्वार्थी र पैसावादी भएको गफ झिके।
मेरो पनि यस्तै खालका गफगाफमा रुचि छ। उनको र मेरो रसायन मिलेजस्तो लाग्यो।
अनि मेरो पालो थपेँ, ‘अरू कुरा के गर्नु हजुर! अहिले त मान्छे सम्बन्धसमेत नाफा–घाटा हेरेर जोड्छन्/तोड्छन्। माया, प्रेम, मित्रता पैसामा बिक्न थालिसक्यो।’
मेरा कुराले उनी प्रभावित देखिए।
उनलाई मभन्दा बढ्ता ‘दार्शनिक’ भएर बोल्ने यो मानिस कुन जातको रहेछ भन्ने लाग्यो कि?
उनले मेरो नाम र पेसा सोधेनन्। सिधै थर (खासमा जात) तिर लागे।
सोधे, ‘हजुर कुन थरीको?
‘थरी’ शब्द मानिसको थरसँग सम्बन्धित भए पनि नेपाली समाजमा यो जात जान्ने अभिप्रायले सोधिन्छ, कम्तीमा दलितका हकमा। त्यही भएर हाम्रा बुवा-आमाले कुन थरी भन्ने प्रश्नको जवाफमा जहिले जात बताउनुहुन्थ्यो।
त्यसो त म आफैँ पनि यसको उत्तरमा सधैँ ‘विश्वकर्मा’ भन्थेँ। तर त्यस दिन मलाई किन किन प्रश्नअनुसारकै उत्तर दिन मन लाग्यो। अर्थात् थर नै बताइदिएँ–‘रिजाल’।
सम्भवतः उनी म रिजाल बाहुन भएकामा विश्वस्त भए। तर उनलाई के थाहा? म त कामी (विश्वकर्मा) रिजाल थिएँ। नाम पनि सोधेका भए त कम्तीमा म बाहुन होइन भन्ने कुरा पत्ता लाग्थ्यो। किनकि मेरो नाममा प्रसाद होइन, बहादुर छ- रूपबहादुर। तर उनले नाम सोधेनन्। रिजाल सुन्नासाथ मक्ख परिहाले। अनि खै कता हो, रिजालहरू टन्नै छन् भनेर सुनाए।
साँच्ची! हामी (कामी) रिजाल र बाहुन रिजालबीच दाजुभाइ/दिदीबहिनीको नाता पर्छ कि पर्दैन होला? रिजाल बाहुनहरूले हामीलाई आफ्नै सन्तान ठान्छन् कि ठान्दैनन् होला?
मेरा बुवा-आमाले सुनेको कुरा साँचो हो भने हाम्रो पुर्खा रिजाल बाहुन नै थिए। बुवा-आमाका अनुसार, हाम्रा हजुरबाभन्दा अघिल्लो पुस्ताको घटना हो। एक रिजाल दम्पतीको बल्लबल्ल छोरो जन्म्यो। तर त्यही पनि ज्योतिषीले पात्रो पल्टाउँदै भनिदिए- ‘तपाईंहरूको यो छोरो मूलमा परेको छ। यसले बाउ टोक्छ!’
परेन फसाद! अब के गर्ने? छोरा मारौँ ‘पाप’ लाग्ने, राखौँ आफैँ मर्ने! त्यसैले रिजाल दम्पतीले एउटा जुक्ति निकाल्यो। त्यो शिशुलाई कोही नउठ्दै बिहान सबेरै सेतो कपडामा बेरेर गाउँनजिकैको पँधेरो (कुवा) माथिको झाडीमा छाडिदिए। कसैले लगे लैजाओस्, बाघ/भालुले खाए खाओस्!
ढिला जाँदा छुवाछूतका कारण पानी भर्ने पालै नपाउने भएकाले एकजना ‘कमिनी’ अरू आउनुभन्दा पहिले पँधेरो पुग्थिन् रे। यही क्रममा उनले झाडीमा राखिएको त्यो बच्चा देखिन्। उनको पनि सन्तान हुन सकेको रहेनछ। अनि पानीको गाग्रोसँगै उनले त्यो शिशुलाई पनि आफ्नो घर ल्याइन्।
त्यो बच्चा कसको हो, किन फालियो, उनलाई केही थाहा थिएन। तर, बच्चा जसले फालेको थियो, उसले भने थाहा पायो- मेरो सन्तान कसैले लगेर हुर्काइरहेको छ। यसैकारण ऊ ती कमिनीको घर छेउमा गएर शंकास्पद रूपले हेर्न थाल्यो। छोरो एक वर्षको रहरलाग्दो भएपछि रिजाल परिवारले मन थाम्न सकेन र ती कमिनीकहाँ गएर मुखै फोरेर भन्यो, ‘बच्चो हाम्रो हो, तपाईंले हुर्काउनुभयो, सट्टामा बरु तपाईंलाई घर, खेत दिउँला, हाम्रो छोरो हामीलाई फिर्ता दिनुपर्यो।’
कमिनीले नाइँ भन्न त सकिनन्। तर एउटा सर्त राखिन्- ‘ठीक छ, बच्चा तपाईंहरूको रहेछ। लान पाउनुहुन्छ। तर यो बच्चो अलि ठूलो होस्, बुझ्ने होस् र आफ्ना बाबु-आमा चिन्ने होस्, त्यतिबेला लैजानुहोला।’
हाम्री आमाका अनुसार त्यसबेला कथित उच्च जातका बच्चाबच्चीका दाँत नसाटिँदासम्म कथित अछूत जातले दिएका खानेकुरा खान हुन्थ्यो रे! जात जाँदैनथ्यो रे! तर दाँत झरेर अर्काे उम्रिन थालिसकेपछि भने कथित अछूतले छोएका चिज खान हुन्नथ्यो रे, जात जान्थ्यो रे! अझै पनि यो चलन कतै हुन सक्छ।
त्यसैले त्यो रिजाल दम्पतीले कमिनीलाई अनुरोध गर्यो रे– ‘होइन, ठूलो भएपछि त दाँत साटिन्छ, दाँत नसाटिँदै लैजाऊँ।’
खासमा ती कमिनीलाई पनि आफूले पालनपोषण गरिरहेको त्यो बच्चाको औधी माया लाग्न थालिसकेको थियो।
त्यसैले उनले भनिन्, ‘त्यसको केही पीर मान्नुपर्दैन। दाँत हल्लिनेबित्तिकै नफुकालौँला। दाँत हल्लिनासाथ तपाईंहरूलाई खबर गरौँला।’
बच्चो करिब ५ वर्षको भएपछि रिजाल दम्पती फेरि कमिनीको घर पुग्यो। यसपटक भने कमिनीले गाउँ-समाज भेला पारिन् र बच्चोलाई बीचमा राखिन्। ती रिजाल बाबु-आमाले जति बोलाए पनि, हात दिए पनि, बच्चो उनीहरूतिर आउँदै आएन। कमिनी ‘आमा’तर्फ नै गइरह्यो। रोयो, करायो, उनीहरूसँग जानै मानेन।
त्यसपछि रिजाल दम्पतीले हार खायो र खाली हात फर्किन बाध्य भयो। अब कमिनीले हुर्काएको, बढाएको त्यो व्यक्तिको थर त रिजाल नै कायम रह्यो, तर जात कामी (विश्वकर्मा) मा झर्यो।
यसरी हामी रिजाल कामी भएको बुवा-आमाको भनाइ छ।
यो कथा कत्तिको सत्य हो म जान्दिनँ। तर बाहुन/क्षेत्रीसँग मिल्ने थर दलितका कसरी भए भन्ने विषयमा यो एउटा उदाहरण हुनसक्छ।
हामीले कत्तिको हेक्का राखेका छौँ- अहिले पनि कुनै कोइराला थरको बाहुन पुरुषले कुनै कमिनीलाई जीवनसाथी बनायो भने उसको थर त कोइराला नै रहन्छ, तर जात कामीमा झर्छ। अनि उसबाट फैलिने सन्तान कोइराला कामी हुन थाल्छन्।
यस्तो छ हाम्रो जातप्रथाको (कु)नियम।
यहाँनिर मलाई के लाग्यो भने मान्छेको जातभन्दा शक्तिशाली त थर रहेछ। जुन जात खोसिने अवस्थामा पनि स्थिर रहन्छ। यसैले पनि ‘थरी’ नै सोध्ने चलन चलेको हो कि?
अतः हामी (दलित) पनि अबदेखि कसैले ‘कुन थरी’ भनेर सोध्दा जात होइन, आफ्नो थर बताउने गर्ने कि?
अहिले त संविधान/कानुनले नै हामीलाई यस्तो अधिकार दिइसकेको छ।
मेरा जन्मदर्ता, नागरिकतादेखि शैक्षिक प्रमाणपत्रसम्म सबै किसिमका दस्तावेजमा जात (विश्वकर्मा) नै उल्लेख छ, कतै थर (रिजाल) लेखिएको छैन। यसरी पत्रपत्रिकामा लेख्दा वा कतै परिचय दिँदा पनि म रूपबहादुर ‘विश्वकर्मा’ नै लेख्छु/भन्छु। कहिले रूपबहादुर ‘रिजाल’ लेख्ने/भन्ने बानी छैन।
किनभने, यो समाज/राज्यले मलाई सानैदेखि यसैमा बानी पार्यो। यसमा मलाई कुनै हीनताबोध त छैन तर राज्यको यो रवैया घृणायोग्य र भर्त्सनायोग्य अवश्य छ।
हाम्रो पुस्तामा आइपुगेपछि मात्र विश्वकर्मासम्म लेख्न-भन्न पाएका हौँ। बुवा-आमाका पालामा त कामी, अनि यसको स्त्रीलिंगी कमिनी नै लेख्नु/भन्नुपर्थ्यो रे। प्रस्टसँग जात जनिने गरी, ताकि कतै छ्यासमिस हुन नपाओस्। त्यतिबेला थर लेख्ने कुरा त सोच्नसम्म पनि सकिन्नथ्यो रे।
त्यसैले मेरा बुवाको नागरिकतामा कामी छ भने आमाको नागरिकतामा कमिनी लेखिएको छ।
आमा भन्नुहुन्छ, ‘कतै नागरिकता देखाउनुपर्दा एकदम अप्ठेरो लाग्छ, कसैले केही भनिहाल्ने हो कि भनेर।’
यसरी दलित समुदायका मानिसलाई लामो समय राज्य/सरकारले नै जात मात्र लेख्न/भन्न बाध्य पारेकाले अहिले पनि धेरैजसो गैरदलितलाई दलितका पनि हाम्राजस्तै विभिन्न थर हुन्छन् भन्ने जानकारी नै छैन।
अझ बाहुन/क्षत्रीसँग मिल्ने थरसमेत हुन्छन् भन्ने थाहा पाउँदा त भुतुक्कै हुन्छन्।
मेरै कतिपय गैरदलित मित्र मेरो थर रिजाल हो भन्दा अचम्ममा परेका छन्।
००००००
मेरो ‘थरी’ सोध्ने ती दाइलाई मैले पनि त्यही शैलीमा सोधेँ- हजुरचाहिँ कुन थरी नि? उनले भने, ‘केसी’। घर धादिङ रहेछ। योग सिकाउँछु भन्थे। बिमा कम्पनीमा पनि काम गर्छन् रे। ग्रिनटीले फाइदा गर्छ भन्दै मलाई त्यसको पर्चा देखाउँदै थिए।
आकस्मिक र अनौपचारिक भेट भएकाले मैले पनि उनको नामचाहिँ सोध्न बिर्सेछु।
मैले थाहा पाएसम्म केसी भनेको क्षत्री हो। सम्भवतः रिजाल थरको मलाई उनले आफूभन्दा उच्च बाहुन ठाने। त्यसपछि उनको हाउभाउ एकाएक बदलियो। ब्याग र शरीर अलि कुनातिर सार्दै मलाई सिटमा सहज किसिमले बस्ने वातावरण बनाइदिए।
त्यसपछि उनले मलाई अति सम्मानका साथ ‘रिजाल सर’ भनेर सम्बोधन पनि गर्न थाले। त्यसो त ‘रिजाल सर’ भनिनु कुनै ठूलो कुरा होइन।
तर के सत्य हो भने जीवनमा कसैले पहिलोपटक मलाई ‘रिजाल सर’ भनेर सम्बोधन गरिरहेको थियो। त्यसैले फरक र रोमाञ्चक अनुभूति गरिरहेको थिएँ।
ती केसी दाइले जुन दृष्टिका साथ मलाई ‘रिजाल सर’ भनिरहेका थिए, त्यहीअनुरूप व्यवहारमा पनि मेरो जात थाहा पाइसकेर पनि सम्मान दिने हो भने त मेरा लागि अहिले पनि ठूलै कुरा हो।
किनभने, मेरो थर रिजाल हो भन्ने पनि थाहा पाएको मेरो जन्मगाउँ (खोरगाउँ, हरिवन-२, सर्लाही) मा अझै मैले छोएको पानी चल्दैन। त्यहाँ रहँदा मैले पानी भर्न कुवा/इनारभन्दा पर बसेर कैयौँ घण्टा कुरेको छु। अहिले गए पनि म गैरदलित सँगसँगै इनारमा पानी तान्न सक्दिनँ (त्यहाँ अहिलेसम्म धाराको व्यवस्था हुन सकेको छैन)।
आफू बुझ्ने भएपछि मैले त्यहाँ छुवाछूत हटाउन के-कति संघर्ष गरेँ र नतिजा के-कस्तो आयो, त्यो कुरा कुनै बेला लेखौँला।
जातपातका विषयमा कलम नचलाएको अलि लामै समय भइसकेको थियो। तर ‘रिजाल सर’को सम्बोधनले मलाई फेरि एकपटक मेरो ‘जात’ सम्झायो।
काठमाडौँमा पनि विभेद
देशको केन्द्रीय राजधानी काठमाडौँ सभ्य र शिक्षितहरूको सहर मानिन्छ (सभ्य र शिक्षितको परिभाषा के हो, थाहा छैन)। तर यहाँ पनि ‘थरी’ सोध्ने चलन जिउँदै छ भन्ने कुरा त सुरुमै उल्लेख भर्खरकै घटनाले देखाइहाल्यो। डेरा खोज्दा दलितहरूले घरबेटीबाट भोगेका जातीय अपमानका घटना पनि सुनिएकै छन्।
काठमाडौँमा घर हुने गैरदलितबाट नाथे डेरामा बस्ने दलित हेपिनु त कुन ठूलो कुरा भयो र! तर चार/पाँचतले भव्य घर भएका दलितसमेत यहाँ जातीय अपमान खेप्न विवश छन्।
काठमाडौँको चन्द्रागिरि नगरपालिका-१, दहचोकमा मेरा बैनीज्वाइँको चारतले पक्की घर छ। ठमेलमा चाँदी पसल छ। भन्न खोजेको धन-सम्पत्तिमा कोहीभन्दा कम छैनन्। बरु वरपरका कतिपय गैरदलित मेरा ज्वाइँजति सम्पन्न छैनन्। छिमेकीलाई आवश्यक पर्दा जति पनि सहयोग गर्न ज्वाइँ अघि सर्छन्। छिमेकीहरू पनि भेट्दा ‘फलानोजी’ भन्दै नमस्कार गर्छन्।
तर आफ्नो घरमा जब कुनै पूजापाठ वा भोजभतेरका कार्यक्रम हुन्छन्, छुट्याउँछन्। वरपरका सबैलाई निमन्त्रणा गर्दा बीचमा रहेको मेरा ज्वाइँको घरमा निम्ता पुग्दैन।
यसबाट के प्रस्ट हुन्छ भने नेपालका कथित कम्युनिस्टहरूले रटान लगाउने विशुद्ध ‘वर्गीय मुक्ति’को कुराले मात्र विशिष्ट र जटिल जातीय विभेदको समस्या हल हुन सक्दैन।
हालैको एक कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले भनेका थिए, ‘सांसद जीवन परियारका डाक्टर छोरा र गैरदलित समुदायकी डाक्टर छोरीबीच सहज रूपमा विवाह गर्ने अवस्था आएको दिन दलित आयोग खारेज गर्नेछौँ।’
यो लेख म त्यस्तो बेला लेखिरहेको छु, जतिबेला ‘थरी’ नमिलेकै कारण रुकुम-पश्चिममा अन्तरजातीय प्रेम गर्ने नवराज विकसहित ६ जनाको बीभत्स हत्या गरिएको मुद्दाको अन्तिम सुनुवाइ चलिरहेको छ।
आइतबारदेखि सुनुवाइ भइरहेको मुद्दामा रुकुम-पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले कस्तो फैसला गर्ला? देशभरका दलित व्यग्र प्रतीक्षामा छन्।
Shares
प्रतिक्रिया