राजनीति


जनयुद्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी हो : मन्त्री पुन

जनयुद्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी हो : मन्त्री पुन

नेपालखबर
माघ १८, २०७६ शनिबार १०:३७,

ऊर्जा, जलश्रोत तथा सिँञ्चाइमन्त्री वर्षमान पुनले माओवादी १० वर्षे जनयुद्ध सही भएको बताएका छन्।

मन्त्री पुनले जनयुद्धकै कारण नेपालमा गणतन्त्रसहितका राजनीतिक परिवर्तन सम्भव भएको यथार्थलाई नबिर्सन आग्रह गरे।

जनयुद्ध इतिहासको आवश्यकताका आधारमा चलाइएको राजनीतिक र सामाजिक अभियान भएको उनको भनाइ थियो। जनयुद्धबाट आएका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री भएर राजकीय जिम्मेवारी निर्वाह गरिसकेको चर्चा गर्दै मन्त्री पुनले जनयुद्ध चाहिँ कसरी गलत भयो भन्ने प्रश्न समेत गरे।

‘जनयुद्धको बेसमा आएको गणतन्त्र सबैका लागि स्वीकार्य हुने, जनयुद्धका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री बन्दा स्वीकार्ने तर गणतन्त्र ल्याउने जनयुद्ध र जनयुद्धका योद्धाहरु चाहिँ किन अस्वीकार्य हुने?’, सहिद तथा बेपत्ता योद्धा सन्तती फाउन्डेसनको प्रथम साधारणसभालाई शनिबार नेकपा कार्यालय कोटेश्वर पेरिसडाँडामा उदघाटन गर्दै नेकपा स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले भने।

उनले जनयुद्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी भएको टिप्पणी गरे। मन्त्री पुनले जनयुद्धले नेपाली समाजमा ठूलो कायापलट ल्याएको भन्दै त्यो इतिहास कसैले अस्वीकार गर्दैमा अस्वीकार्य नहुने दावी गरे। मन्त्री पुनले आफूहरु संयोगले जनयुद्धबाट बाँचेर आएको भन्दै सहिदहरुको सपना बाँचेकाहरुले पूरा गर्नुपर्नेमा जोड दिए। आफ्नो पार्टी र सरकार जनयुद्ध तथा त्यसअघि र पछि भएका आन्दोलनका सहिदहरुका सपना साकार पार्न सक्रिय र प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

मन्त्री पुनले सहिदका सपना साकार पार्नकै लागि तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको स्पष्ट गरे।

प्रचण्ड प्रधानमन्त्री भएकै बेला जनयुद्धका सहिदलाई सहिद घोषणा गरिएको स्मरण गर्दै मन्त्री पुनले राजपत्रमा प्रकाशित नहुँदा अन्योल कायम रहेको बताए। उनले सो निर्णयलाई वर्तमान सरकारले राजपत्रमा प्रकाशित गरेर लखन थापादेखि जनयुद्धसम्मका सहिदलाई राष्ट्रिय सहिदको सूचीमा समावेश गर्ने काम छिट्टै गरिने प्रतिबद्धता जनाए। ‘लखन थापादेखि जनयुद्धसम्मका सहिदलाई राष्ट्रिय सहिदघोषणा गरिन्छ’, मन्त्री पुनले भने, ‘यो सरकारले त्यो काम गर्छ ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad