समाज


हेलिकोप्टरबाट एकै दिन दुई सुत्केरीको उद्धार

हेलिकोप्टरबाट एकै दिन दुई सुत्केरीको उद्धार

नेपालखबर
माघ १८, २०७६ शनिबार १०:४७,

जिल्लाको दुर्गम गाउँ साप्पाटा र गोत्रीबाट सेनाको हेलिकोप्टरद्वारा एकै दिन शुक्रबार दुई सुत्केरीको उद्धार गरिएको छ।

स्वामीकार्तिक खापर गाउँपालिका–२ फयालगाउँकी गीता विक र जगन्नाथ गाउँपालिका–५ बेहरडाँडागाउँकी २१ वर्षीया सिर्जना सार्कीको एकै दिन उद्धार गरिएको हो।

साप्पाटा फयालगाउँकी गीताले घरमै बच्चा जन्माएको र स्वास्थ्य संस्थामा नगएकाले उच्च रक्तश्राव भएका कारण गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने भएपछि हेलिकोप्टरमार्फत नेपालगञ्ज उपचारका लागि लगिएको जिल्ला अस्पतालका प्रमुख रुपचन्द्र विश्वकर्माले बताए। चौथो सन्तानका रूपमा छोराको जन्मदिएकी उनको अत्यधिक रक्तश्रावका कारण आमा र छोराको ज्यान जोखिममा परेको थियो।

त्यसैगरी सिर्जनाको यही माघ १५ गतेदेखि लामो ब्यथा लागेको र पहिलो गर्भवती भएकाले पाठेघरको मुख नखोलिँदा समस्या भएका कारण उनलाई पनि हेलिकोप्टरमार्फत उद्धार गरिएको गोत्री सामुदायिक स्वास्थ्य एकाइका प्रमुख अमर बुढाले जानकारी दिए। उनलाई पनि उपचारका लागि नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा लगिएको डा‍. विश्वकर्माको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयमा खबर पाइसकेपछि प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने र जिल्ला अस्पतालका प्रमुख डा विश्वकर्माको समन्वय तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा दुवै सुत्केरीको उद्धार गरिएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताए।

स्वामीकार्तिकका अध्यक्ष चीरञ्जीवी शाही र जगन्नाथका अध्यक्ष कालीबहादुरले खबर गरेलगत्तै आफूले मन्त्रालयमा फोन गरेको र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तत्कालै नेपाली सेनाको हेलिकोप्टर पठाएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad