ad ad

राजनीति


२४सै घण्टा काम गरेर भए पनि तोकिएको मितिमा सक्न उपप्रधानमन्त्री खड्काको निर्देशन

२४सै घण्टा काम गरेर भए पनि तोकिएको मितिमा सक्न उपप्रधानमन्त्री खड्काको निर्देशन

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १५:४४, काठमाडौँ

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई दु्रतमार्ग निर्माण योजना थप गरिएको समयभित्र सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएका छन्।

आगामी २०८३ साल चैत्र मसान्तभित्र सम्पन्न गरिसक्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाले सोही समयमा आयोजनाको काम पूरा गर्नुपर्ने उनको भनाई थियो।

शुक्रबार सिंहदरबारमा मन्त्रालयको चालु आ.व.को प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले उक्त कुरा बताएका हुन्।

बोल्ने क्रममा उपप्रधानमन्त्री खड्काले सो योजना सम्पन्न गर्ने काम थपिएको समयभन्दा पछि टार्ने अनुमति कसैलाई नरहेको बताएका छन्।

देशकै प्रतिष्ठाको विषय भएको उक्त आयोजनाको काम सम्पन्न गर्न अब नेपाली सेनाले पनि ढिलाई नगर्ने विश्वास उनले व्यक्त गरे।

उपप्रधानमन्त्री खड्काले आयोजनाको कुनै पनि समस्या तत्काल समाधान गरेर अघि बढ्न नेपाल सरकार तयार रहेको पनि पटक पटक दोहोर्‍याए।

ठेकदारहरूले ढिलाई नगरुन् भन्नका लागि अनुगमनको काममा पनि कडाई गर्नुपर्ने मन्त्री खड्काले बताए।

यो विषयमा सचिवले संयोजकत्व भूमिका निर्वाह गरी चाँडै नै निचोडमा पुग्न उपप्रधानमन्त्री खड्काले निर्देशन दिएका छन्।

‘भौतिक मन्त्रालय, पर्यटन मन्त्रालय, नेपाली सेना को–को बसेर हुन्छ, तपाईंहरूले २/३ दिनभित्रै मिटिङ गरेर त्यसको अवस्थाबारे मलाई जानकारी हुनुपर्‍यो,’ उपप्रधानमन्त्री खड्काले भने।

नेपाली सेनाले विभिन्न जिम्मेवारीहरू ऐतिहासिक रूपमा सम्पन्न गरेको स्मरण गराउँदै उपप्रधानमन्त्री खड्काले यो काममा पनि ढिला नगर्न निर्देशन दिएका हुन्।

नेपाली जनताको मनमा छुट्टै पहिचान बोकेको नेपाली सेनाले अन्तर्राष्ट्रिय रूपमा पनि प्रख्याति पाएको बताउँदै खड्काले फास्ट ट्रयाकको काम सेनाको प्रतिष्ठासँग जोडिएको बताए।

‘नेपाली सेनाको आफ्नो छुट्टै पहिचान छ। नेपाली जनताको मनमा छुट्टै पहिचान छ। नेपालको सन्दर्भमा धेरै खालका काम नेपाली सेनाले गरेको छ। संसारभर प्रख्याति पाएको छ,’ उपप्रधानमन्त्री खड्का भन्छन्, ‘फाष्ट्र ट्रयाक नेपाली सेनाको प्रतिष्ठासँग जोडिएको छ। देशको प्रतिष्ठाको विषय हो। यो सरकारको प्रतिष्ठासँग जोडिएको छ।’

तोकिएको समयभित्रै काम टुंग्याउन २४ घण्टामा २० घण्टा काम गर्नुपर्ने हो कि, २४ सै घण्टा गर्नुपर्ने हो, काम सक्नैपर्ने खड्काको जिकिर छ।

फास्ट ट्र्याकलाई लिएर कहीँ पनि सम्झौता गर्नु नहुनेमा उनले जोड दिए।

खड्का भन्छन्, ‘सरकारले गर्नुपर्ने काम गरौंला। तर, यसमा समय थप खर्चने वा टार्ने हामीसँग अनुमति छैन।’

सिंगो देशको, संसद्को पनि यसमा लगानी भएकोले त्यही अनुसारको तयारी गर्न उनले निर्देशन दिए।

विशेष गरेर ठेकदारहरूले कुनै पनि बहानामा काम नगरेको सन्दर्भमा अत्यन्त कडाईका साथ जानुपर्ने उनले बताएका छन्।

उपप्रधानमन्त्री खड्काले कुनै पनि काममा ढिलाई नगर्न मन्त्रालय मातहतका निकायलाई पनि सचेत गराएका छन्।

बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले बजेटको अभावमा नेपाली सेनाले पाएको सडक निर्माण लगायतका जिम्मेवारी समयमै सम्पन्न गर्ने काममा ढिलाई हुनगएको स्पष्टीकरण दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .