ad ad

राजनीति


कोशीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत आज

कोशीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत आज

नेपालखबर
असोज २७, २०८० शनिबार ६:४४, काठमाडौँ

कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आज (शनिबार) सांसदहरुको सनाखत हुँदै छ।

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेपछि शुक्रबार प्रदेश प्रमुख खापुङले दुबै पक्षले पेस गरेका सांसदहरुको हस्ताक्षर सनाखत गर्ने निर्णय लिएका हुन्।

प्रदेश प्रमुख खापुङले प्रदेशसभा सदस्यलाई हस्ताक्षर सनाखत गर्न शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएका छन्।  

प्रदेश प्रमुखको कार्यालयले शुक्रबार सूचना जारी गर्दै दुबै दाबीकर्ताको समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित हुन आग्रह गरेको छ।

मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्की र आङ्बो दुबैले प्रदेश सभाका ४७–४७ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका छन्।

तर, आङ्बोले आफ्नो पक्षमा राखेका कांग्रेसको शेखर कोइराला पक्षका ८ जना सांसदको नाम कार्कीको लिस्टमा पनि देखिएपछि प्रदेश प्रमुख खापुङले सांसदलाई शशरीर उपस्थित गराएर सनाखत गर्ने तयारी गरेका हुन्।

नयाँ मुख्यमन्त्री नियुक्तको विषयमा कांग्रेसमा दुई धार देखिएपछि कोशीको सत्ता राजनीति जटिल मोडमा पुगेको छ। 

कोशीमा संविधानको धारा १६५(५) अन्तर्गत सरकार बन्न लागेको हो। यो धारा अन्तर्गत बहुमत जुटाउने कुनै पनि प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .