ad ad

राजनीति


मेरा मागहरू कार्यान्वयन हुने­–नहुने हेर्न महाधिवेशन पर्खिरहेको छु : रामकुमारी झाँक्री

‘समाजवादी जागरण अभियानले जनतासँग कुरा गर्ने मौका मिल्यो’
मेरा मागहरू कार्यान्वयन हुने­–नहुने हेर्न महाधिवेशन पर्खिरहेको छु : रामकुमारी झाँक्री

नेपालखबर
असोज २६, २०८० शुक्रबार १४:५१, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले पार्टीले सञ्चालन गरेको ‘समाजवादी जागरण अभियान’ले जनतामा पार्टीप्रतिको स्वीकार्यता बढाउँदै सकारात्मक सन्देशसहित अघि बढेको बताएकी छिन्। 

अभियानमा सामेल हुन शुक्रबार काठमाडौंबाट धनगढी विमानस्थलमा अवतरण गरेपछि समाजवादी प्रेस संगठन नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीले गरेको स्वागतका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै सचिव झाँक्रीले  सो कुरा बताएकी हुन्। 

अभियानका क्रममा झापाको काकँडभिट्टादेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सहभागी हुँदासम्मको अनुभवका आधारमा उनले जनतासँग नेतृत्वले आमनेसामने हुँदै अन्तक्र्रिया गर्ने मौका पाएको र त्यसक्रममा पार्टी निर्माण, विचारधारात्मक विकास तथा रणनीतिक क्रियाशीलताका निम्ति नेतृत्वलाई प्रेरणा प्राप्त भइरहेको उल्लेख गरिन्।

सोही उत्साहका कारण उनी सुदूरपश्चिम तथा कर्णाली प्रदेशका कार्यक्रममा सरिक हुन् धनगढी आइपुगेको उनले बताइन्। 

उनले भनिन्, ‘हामीले सबैजसो ठाउँमा जनतासँग कर्नर टक गर्ने मौका पायौं, जनताको कुरालाई नजिकबाट सुन्न पायौं।’

पार्टी निर्माणको दुई वर्षका बीचमा यस किसिमको अभियान नचलाइएको कारण संगठित हुन चाहने मानिसहरुलाई संगठित गर्न नसकिएको र जिम्मेवारी व्यवस्थापनको कुरामा पनि पार्टी पछाडि परेको भन्दै अभियानले ती कुरा चिरेको बताइन्। उनले भनिन्, ‘अब पार्टी फरक ढंगले जान्छ भन्ने सन्देश अभियानले दिएको छ।’

पार्टीको विद्यमान वैधानिक संरचना नेकपा (एमाले) को आठौं महाधिवशनले तय गरेको विधानअनुसार रहेको र त्यसले नेतृत्वमा नयाँ पुस्ताको उपस्थिति, भूमिका र क्रियाशीलतालाई सहज नबनाएको भन्दै अब पार्टीले त्यसलाई संशोधन गर्नुपर्ने कुरामा उनले जोड दिइन्।

हालै सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकमा यसबारे आफूले राख्नुपर्ने सबै कुरा राखेको र आगामी माघ महिनामा महाधिवेशन आयोजना गरिने भएका कारण आफ्ना मागहरूको कार्यान्वयन हुने, नहुने भन्ने विषयका लागि महाधिवेशन पर्खिरहेको उनले बताइन्।

पार्टीको निर्माण, सञ्चालन र गतिविधिहरुलाई अगाडि बढाउने सन्दर्भमा आफूले लामो समयदेखि उठाउन चाहेका कतिपय कुरा उठाउन नपाएको र केन्द्रीय कमिटी बैठकमा आफ्ना कुराको सुनुवाई भएकोप्रति उनले सन्तुष्टि व्यक्त गरिन्।

उनले भनिन्, ‘मेरो कुरालाई पार्टीले महसूस गरेको र मैले पनि आफ्नो कुरा पार्टीले सुनेको महसुस गरेकी छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .