पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाएका छन्।
बुधवार काठमाडौंमा आयोजित नेपाल सर्ट फिल्म अवार्ड २०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको बताए।
उनले आफ्नो नाममा आफूले नचाहँदा नचाहँदै पनि नाम राखेको र त्यसबाट के–के गरे भन्नेबारे आफू अनविज्ञ रहेको बताए।
उनले भने, ‘मलाई शंका लाग्दा लाग्दै पनि ल ठिक छ राख्नुस् भनेर मेरो नाममा राख्नुभयो नाम। मेरो नाम राख्नुभयो। त्यो नाम राखेर उहाँहरुले के के गर्नुभयो? म त राजनीतिक मान्छे, म राजनीतिलाई पेशा, व्यवसाय, कमाउ, धमाउ मान्दिन। कतिपयले त्यसो गर्ने गर्छन्, ति अपराधी हुन्।’
उनले सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको पनि स्पष्ट पारे। पछिल्लो समय त्यसलाई विवादमा तान्ने काम भएको भन्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता समेत रहेका उनले अख्तियारमा समेत उजुरी परेर छानबिनको विषय बनेको कुरा आफूले जानकारी पाएको बताए।
उनले नाम अर्कैले राखेको तर आफूलाई ७३ करोड भन्ने गरिएको बताए। उनले सर्प पालनमा आफ्नो कुनै लगानी र पेशा व्यवसाय नभएको स्पष्ट पारे।
उनले भने, ‘यहाँ त ७३ करोड पैसा ल्याइयो। ७३ करोड पैसा ल्याएर झलनाथले सर्प पाल्दैछ भन्छन्, एक खाले मान्छेहरु कमेन्टमा सर्प लेखेर बस्छन्, तिनीहरुको पेशा नै त्यही जस्तो लाग्छ। त्यसमा मेरो न कुनै लगानी छ, न कुनै अरु पेशा व्यवसाय छ। मेरो विशुद्ध यो देशमै औषधि बनोस् भन्ने इच्छा हो, अहिले विवादग्रस्त भएछ। अख्तियारमा समेत पुगेछ। म सर्प पाल्दिन। भैँसी, बाख्रा पाल्न छोडेँ।’
पूर्वप्रधानमन्त्री खनालले साहित्य, कला र संस्कृति समाजको शक्ति भएको बताउँदै कला,साहित्य र संस्कृतिको विकास नहुने देश बलियो र समृद्ध नहुने जिकिर गरे।

प्रतिक्रिया