ad ad

राजनीति


प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै हुने निश्चित

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै हुने निश्चित

शैलेन्द्र महतो
माघ १२, २०७६ आइतबार १४:२५,

प्रदेश २ को स्थायी मुकाम जनकपुरधाम नै हुने निश्चित जस्तै भएको छ। प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउने विषयमा गठित संसदीय विशेष समितिमा प्रदेशको २ को स्थायी राजधानी जनकपुरधामलाई नै तोक्ने सहमति भएको हो।

समितिका संयोजक समेत रहेका सभामुख सरोजकुमार यादवले समितिमा जनकपुरधामलाई नै स्थायी राजधानीको रुपमा तय गर्ने निर्णय सर्वसम्मतिले पारित भएको जानकारी दिए।

सभामुख यादवका अनुसार ‘उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा नेपाल भारत सीमा दशगजा, पूर्व र पश्चिमतर्फ मिथिला माध्यमिकी परिक्रमा क्षेत्रसम्म राजधानीको सीमा निर्धारण गर्ने सहमति भएको हो। समितिले टुंगो लगाएको राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले पारित भएपछि औपचारिक रुपमै जनकपुरधाम राजधानी कायम हुनेछ।

गएको भदौ ५ गते प्रदेशसभाका सबै दलले प्रदेशको राजधानी र नाम सम्बन्धी प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए। समितिले सर्वसम्मतिले पारित गरेको सो प्रस्ताव नेकपा, समाजवादी र राजपाले दर्ता गराएका थिए। यता, नेपाली कांग्रेसले पनि जनकपुरधाम उपमहानगरपालिकाभित्र राजधानी हुनुपर्ने प्रस्ताव दर्ता गराएको थियो।

प्रदेशको स्थायी राजधानी विशेष समितिमा टुंगो लागेतापनि नामको टुंगो लाग्न सकेको छैन। नाम समेत टुंगो लगाउने विषयमा विशेष समितिमा छलफल तथा कसरत भइरहेको जनाइएको छ।

प्रदेशसभामा राजधानी र नामको विषयमा प्रस्ताव दर्ता भएपछि प्रदेश सभाको बैठकले सभामुख यादवको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति गठन गरेको थियो। जसमा उपसभामुख उपमा देव लगायत प्रदेशसभाका सबै दलका प्रदेश सांसद छन्। प्रदेशसभाको बैठक लामो समय पश्चात सोमबार बस्न लागेको छ। सोही बैठकबाट राजधानीको टुंगो लगाइने र प्रदेशको नामाकरण प्रक्रिया अघि बढ्ने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .