कला


पोखरेली रंगकर्मी प्रकाश र अनुपलाई यसरी लाग्यो नाटकको चस्का

पोखरेली रंगकर्मी प्रकाश र अनुपलाई यसरी लाग्यो नाटकको चस्का

वाशुदेव मिश्र
माघ १२, २०७६ आइतबार १४:२४,

अनुप बराल र प्रकाश घिमिरेको घरनजिकै थियो कल्पना सिनेमा हल। अनुप सिनेमाको साह्रै चर्को लती थिए, नयाँ फिल्म आएपछि हेरिहाल्नुपर्ने, त्यो पनि ३ शोसम्म। घरबाट स्कुल जान झोला बोकेर निस्केका अनुप सोझै हल पुग्थे।

शुक्रबार रिलिज हुने फिल्म बिहीबार सेन्सरका मान्छेले हेर्थे। साँझ ६ बजेको शोमा हल छिरेका अनुप हलका कुर्सीमुनि लुक्थे। ‘पछि सेन्सरका मान्छेहरुसँग फिल्म हेरेर निस्कन्थेँ,’ उनले भने, ‘भोलिपल्ट हलमा चलेको फिल्मको कथा यस्तो छ भनेर साथीहरुलाई सुनाउँदा उनीहरु पनि दंग पर्थे।’

फिल्म त प्रकाश पनि हेर्थे तर उतिसारो होइन। उनी समूहमा फिल्म हेर्न जान रुचाउने। ‘मेरो रहर त समाजसेवा थियो’, प्रकाशले भने,‘ सबै कलाकार भएर जन्मेका हुन्छन्। सबै मान्छेले गर्ने काम नै कला हो। म सामान्य रुपले जन्मेको र हुर्केको मान्छे हुँ। मैले कलाकारिता गरेँ कि गरिन थाहा छैन तर अनुपमा मैले कलाकारिता देखेको थिएँ। अनुप निष्कलंक, निष्कपट थियो।’

प्रकाशका अनुसार घाँस काट्न जाँदा पनि उनीहरु अभिनय गरेर देखाउँथे। रातको १२ बजेसम्म पनि अभिनय गरेको/गराएको उनले सम्झे। उनी अनुपभन्दा उमेरले ठूला, त्यसैले कम चकचक गर्थे।

पोखरा थिएटरको आयोजनामा पोखरामा सञ्चालित महानगरस्तरीय विद्यालय नाटक महोत्सवअन्तर्गत ‘नाटकको चस्का ,त्यो बालापन’ सेसनमा १४ वर्षीय संगम लामिछानेसँग गफिने क्रममा अनुपले आफू सानैदेखि अस्थिर स्वभावको र जिज्ञासु भएको स्वीकारे।

‘घरबाट स्कुल जान्छु भनेर हिँडिन्थ्यो, कतै जात्रा देखेँ भने म झोला डहरको असुराको बोटमुनि लुकाउँथे र जात्रा हेर्न जान्थेँ’, उनले भने, ‘घरमा बुबाले जापानबाट ल्याएको एउटा घडी थियो, घडी कसरी चल्छ भनेर मैले फुटाएँ। पछि बनाउन जानिनँ अनि घरपछाडिको बारीमा लगेर पुरेँ।’ पिता दुर्गा बरालले धेरैदिनसम्म ‘घडी यहीँ राखेजस्तो लाग्छ’ भन्दा उनी चाहिँ डरले थुरथृुर हुन्थे। एक वर्षपछि उनी आफैँले घडी गाडेको भेद खोले। ‘हेर्दा त सबै पार्टपुर्जा खिया लागेको,’ उनले सुनाए।

३० को दशकमा उनीहरुले नाटक सुरु गरेका थिए। त्यसबेला नाटकका लागि आवश्यक पूर्वाधार केही थिएन। महिला कलाकार एकदमै कम थिए। ‘नाटक गर्दा चाहिने सोफा लगायतका सामान घरबाटै ल्याउनुपर्थ्यो। सरुभक्त त्यही बेला भन्थे, नाटक भनेको दिनु मात्र छ, लिनु केही छैन,’ अनुप सम्झिन्छन्।

हो , अनुपको पुस्ताले नाटकलाई धेरै दियो। उनीहरुले रहरले नाटक सुरु गरे। प्रतिबिम्ब नाटक समूह नै खडा गरे। हिन्दी फिल्ममा त्यो बेला ‘एन्टी हिरो’ चल्थ्यो। उपद्रो गर्ने, धनीको सम्पत्ति खोसेर गरिबलाई बाँड्ने र भावनासँग खेल्ने हिरोहरु हुन्थे। अनुपलाई त्यही जीवन बाँच्न मन लाग्थ्यो। त्यसैले उनले पनि फकिरीको बाटो रोजे।

बिस्तारै नाटक बेरोजगार अशिक्षितले खेल्ने हो भन्ने मान्यताबाट उनीहरु माथि उठ्न थाले। हरेक मान्छेको अभिव्यक्त गर्ने माध्यम फरक हुन्छ भन्ने कुरा बुझेपछि बल्ल अभियनको बाटो समातिएको अनुपलाई लाग्छ।

प्रकाशलाई चाहिँ नाटकमै जीवन बिताउँछु भन्ने थिएन। उनले रुचीले मात्रै नभएर मेहनतले कलाकार बन्न सकिने धारणा राखे। ‘खानेमुखलाई जुँगाले छेक्दैन, मानिसले इच्छा राख्नुपर्छ र मेहनत पनि गर्नुपर्छ,’ उनले सुनाए। उनले विजय मल्लको जिउँदो लास भन्ने नाटककै लागि २ वर्ष रिहर्सल गरेको पनि सुनाए।

दुवैले घरपरिवारको सहयोगले नै कलायात्रा सम्भव भएको स्वीकारे।

अनुप र प्रकाशका अनुसार समाज रुपान्तरणको लागि सशक्त माध्यम श्रव्यदृष्य हुने बुझेपछि उनीहरु नाटकमा डुबे। अनुपले नाटक खेल्दा पात्रसँग एकाकार हुनुपर्ने धारणा पनि राखे। उनका अनुसार अभिनय भनेको एकपटक साइकल सिकेपछि जीवनभर त्यसरी नै चलाएजस्तो हुँदै होइन।

‘यहाँ धेरै एक्टर छन्, साइकल सिकेजस्तो गरेका छन् र छाडेका छन्,’ एउटै खालको अभिनयले सिनेमामा टिक्न गाह्रो हुने बताउँदै उनले भने, ‘हरेक चरित्र गर्दा फरक हुनुपर्छ, शरीर नै फरक बनाउन सक्नुपर्छ।’

उनले हिन्दी फिल्मको नक्कल गरेर सिनेमामा पात्रभन्दा पनि हिरोलाई महान बनाउने परम्पराबाट नेपाली फिल्महरु बाहिर निस्केको बताए। ‘अहिले शैलीमा परिवर्तन आएको छ ,मधेसको कुरा गर्दा त्यहाँकै चरित्रलाई त्यो भूमिका दिनुपर्छ भन्ने भएको छ। त्यस्तो भूमिका दिँदा फिल्म बढी प्रामाणिक हुन्छ, अहिले दयाहाङजस्ता जनजाति हिरो बनेर आएका छन्, यसले पात्रमाथि न्याय भएको छ,’ अनुपले भने।

अनुपका अनुसार मानिस प्रतिभासहित नै जन्मिन्छ। पछि रुचीअनुसार ऊ परिष्कृत हुन्छ। उसको परिवेश, संगत र रुचीले नै मान्छे के बन्छ भन्ने निर्धारण गर्छ। ‘कोही पनि मानिस जन्मँदै कलाकार हुँदैन। प्रतिभाशाली व्यक्तिले नयाँ सिर्जना गर्छ। नक्कल गर्ने मान्छे महान कलाकार बन्न सक्दैन,’ उनले भने।

अहिले अभिनय सिक्ने वातावरण बनेपनि, रंगमञ्चको विकास र विस्तार भए पनि नाटकको विकासको लागि राज्यले नै लगानी गर्नुपर्नेमा अनुपले जोड दिए। ‘राज्यस्तरबाट ड्रामा स्कुलहरु खोल्ने हो भने पैसा नहुनेहरुले पनि अभिनय सिक्ने मौका पाउँछन्,’ उनले भने।

आफ्नै बलबुताले कलाकारिताको यात्रा तय गरेको बताउँदै प्रकाशले अब आफू हिँडेको कच्ची बाटो पक्की बने हुन्थ्यो भन्ने चाहना व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .