सरकारले आज (शनिबार) देशव्यापी रूपमा वृक्षरोपण अभियान सुरु गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान काठमाडौंको कोटेश्वर रिङरोड क्षेत्रमा फलफूलका बिरुवा रोपेर उक्त अभियानको उद्घाटन गरेका छन्।
केहीबेरअघि प्रधानमन्त्रीले वृक्षरोपण अभियान उद्घाटन गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
उनका अनुसार कोटेश्वरदेखि कलंकीसम्म फलफूलका बिरुवा रोपिनेछन्।
हरेक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाउने निर्णय गरेको सरकारले आगामी ३ वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना अघि सारेको छ।
संघीय सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, सातवटै प्रदेश, स्थानीय तह, विश्वविद्यालय, संस्थान, वन उपभोक्ता समिति र गैरसरकारी संस्थाहरुलाई पनि आआफ्नो क्षेत्रमा वृक्षरोपण गर्न निर्देशन दिएको छ।
उक्त निर्देशनअनुसार राजनीतिक दलका भ्रातृसंगठनहरु पनि वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै छन्।
प्रधानमन्त्री केपी ओलीले गत वर्ष ५ जुनदेखि नै एक नेपाली एक फलफूलका बिरुवा रोप्ने अभियान थालेका थिए।
प्रधानमन्त्रीको एक नेपाली एक फलफूलको बिरुवा रोपण अभियानलाई मूर्तरूप दिन वृक्षरोपण दिवसमार्फत पुनः फलफूलका बिरुवा रोप्ने कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिएको हो।
सरकारले लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिक स्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रेका वन क्षेत्रमा समेत फलफूल तथा औषधिजन्य (हर्बल) बिरुवा रोप्ने निर्णय गरेको छ।

प्रतिक्रिया